गुल्मीमा बादर-बनेल आतंक : जनप्रतिनिधिबीच बस्ती नै सार्ने विकल्पमा छलफल

प्रतिनिधिसभा सदस्य, जिल्ला समन्वय समिति प्रमुख तथा स्थानीय तहका प्रमुखबीच सम्पन्न भर्चुअल बैठकमा यस विषयमा विशेष छलफल गरिएको हो ।

गुल्मी । बाँदर र बनेललगायतका वन्यजन्तुको बढ्दो आतंकका कारण बस्ती नै स्थानान्तरण गर्नुपर्ने माग उठेपछि गुल्मीका जनप्रतिनिधि गम्भीर बनेका छन् ।

प्रतिनिधिसभा सदस्य, जिल्ला समन्वय समिति प्रमुख तथा स्थानीय तहका प्रमुखबीच सम्पन्न भर्चुअल बैठकमा यस विषयमा विशेष छलफल गरिएको हो । बैठकमा गुल्मी–१ का सांसद सागर ढकाल, गुल्मी–२ का सांसद गोविन्द पन्थी, जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्रीलगायत सहभागीले वन्यजन्तुका कारण जनजीवनमा परेको असरबारे चिन्ता व्यक्त गरेका थिए ।

बैठकपछि सार्वजनिक निष्कर्षमा बाँदर र बनेलको अत्यधिक आतंकले खेतीपाती नष्ट हुनुका साथै बस्ती नै सार्नुपर्ने विकल्पमा कुराकानी भएको छ । यस्तो गम्भीर समस्याको दीर्घकालीन समाधानका लागि तत्काल प्रभावकारी नीति तथा कार्यक्रम ल्याउन संघीय सरकारसँग माग गरिएको जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्रीले बताए ।

बैठकले जिल्लाका अन्य विकासका मुद्दामा पनि ध्यान केन्द्रित गरेको छ । छलफलका क्रममा स्थानीय तहमा निर्माण भएका १५ शैयाका अस्पताल सञ्चालनका लागि विशेषज्ञ चिकित्सक र आवश्यक जनशक्ति अभाव रहेको भन्दै संघ सरकारको विशेष पहल आवश्यक रहेको निष्कर्ष निकालिएको छ ।

खानेपानी आयोजनामा न्यून बजेट विनियोजनका कारण वर्षौंदेखि समस्या समाधान हुन नसकेको, बर्खायाम नजिकिँदै गर्दा अधुरा रहेका पुल तथा सडक जोखिमपूर्ण अवस्थामा रहेको भन्दै तत्काल बजेट व्यवस्था गर्नुपर्नेमा जोड दिइएको छ ।

त्यसैगरी ‘एक पालिका–एक पकेट’ कार्यक्रममार्फत कृषि उत्पादन र रोजगारी सिर्जना, ठेकेदारको ढिलासुस्ती र गुणस्तरहीन काममा कडाइ, सार्वजनिक खरिद ऐन संशोधन, सिँचाइ तथा सडक आयोजनामा पर्याप्त बजेट विनियोजन, कर्मचारी अभाव पूर्ति लगायतका विषयमा पनि सहमति भएको छ ।

जनप्रतिनिधिहरूले यी सबै समस्याको समाधानका लागि संघीय सरकारसँग समन्वय गर्दै प्रभावकारी पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?