गंगादेवी हत्या प्रकरण : आपराधिक पृष्ठभुमिका लोकबहादुर र शिवबहादुर, जेल बस्दा बुन्थे योजना !

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–७ न्वारामा ५८ वर्षीया होटल व्यवसायी गंगादेवी शेरचनको हत्या गर्ने तीन जनालाई जिल्ला अदालत गुल्मीले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

बाग्लुङको बडिगाड गाउँपालिका–७ भिमगिठे घर भई गलकोट नगरपालिका–१ दुधिलाभाटीमा एक वर्षदेखि कोठा भाडामा बस्दै आएका ३५ वर्षीय थम्मनबहादुर घर्ती, मकवानपुरको साविक बतिनी गाविस–७ घर भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका–१० ढुंगेअड्डा बस्ने ४९ वर्षीय लोकबहादुर दर्लामी र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ कर्थली घर भई हाल काभ्रेपलान्चोकको नगरपालिका–७ हुर्खा बेइजिङमा कोठा भाडामा बस्दै आएका ३७ वर्षीय शिवबहादुर तामाङ पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

थम्मन र लोकबहादुर ज्याला मजदुरी गर्थे। यी तीनमध्ये लोकबहादुर र शिवबहादुर विगतमा पनि सिन्धुपाल्चोकमा डाँका चोरी तथा शरीर बन्धक मुद्दामा सँगै जेल बसेकाहरू रहेको जिल्ला प्रहरी प्रमुख एसपी नवीन किशोर प्रधान बताए।

थम्मनविरूद्ध जिल्ला प्रहरी परिसर ललितपुरले २०६५ अपहरण तथा शरीर बन्धक कसुरमा र सिन्धुपाल्चोकको इलाका प्रहरी कार्यालय मेलम्चीले २०७५ सालमा चोरी तथा डाँका कसुरमा मुद्दा चलाएको थियो।

त्यस्तै, शिवबहादुरविरूद्ध २०६२ सालमा जिल्ला प्रहरी परिसर ललितपुरले डाँका चोरी कसुरमा र २०७८ सालमा सिन्धुपाल्चोकको इलाका प्रहरी कार्यालय बाह्रबिसेले अभद्र व्यवहार कसुरमा विगतमा मुद्दा चलाई कारबाही गरेको उनले बताए।

एसपी प्रधानका अनुसार लोकबहादुर र शिवबहादुर ३ बर्ष पहिले बाग्लुङ आएका थिए। त्यतिखेर उनीहरूको थम्मनसँग चिनजान भएको थियो। त्यसपछि उनीहरू थम्मनकहाँ आएर बस्ने खाने र कहाँ के छ भनेर सूचना संकलन गर्दै आएका थिए।

शिवबहादुरको विगत यस्तै कसुरमा पटक पटक जेल परेको तथा उद्धेश्य डाँका चोरी रहेको प्रहरी बताउँछ। हत्यामा संलग्न भनिएका शिव बहादुरका सहोदर दाइ भने फरार छन्। उनलाई प्रहरीले मुख्य योजनाकार मानेको छ। उनको नाम अझै प्रहरीले सार्वजनिक गरेको छैन।

एसपी प्रधानका अनुसार थम्मनले सूचना बाहकको रूपमा काम गरेको तथा लोकबहादुर र शिवबहादुरले गंगाको डाँका चोरीको योजना बनाएको अनुसन्धानबाट खुलेको जानकारी दिए।

सिन्धुपाल्चोकमा सँगै जेल जीवन बिताउँदा लोकबहादुर र शिवबहादुरको बीचमा चिनजान भएको तथा त्यसपछि पनि उनीहरू ललितपुरमा बसेर बिभिन्न अपराधका योजनाहरू बुन्ने गरेको प्रहरी बताउँछ।

लोकबहादुरले विगतमा गुल्मीको तम्घासमा पनि एक फर्निचर उद्योगमा काम गर्ने गरेका थिए। त्यसक्रममा पनि उनीहरू साथीहरूसँग मिलेर डाँका गर्ने गरेको एसपी प्रधानले जानकारी दिए।

डाँका गर्ने उद्धेश्यका साथ गत माघ १४ गते उनीहरू बेलुका गंगादेवीको घरमा पुगेको प्रहरी अधिकारी बताउँछन्। जहाँ अविवाहित गंगादेवीले घर भाडामा लिएर ‘गंगा होटल’ चलाउँदै आएकी थिइन्।

उनको होटलमा खाना खाने र दुई–चार जना बास बस्न मिल्ने खाले थियो। त्यही उद्धेश्यले पुगेकाहरूले गंगालाई देख्नासाथ प्लाष्टिकको कार्टुन टेपले हात खुट्टा र मुख बाँधेर लडाइँ लुटपाट सुरू गरेका थिए। उनीहरूले १२ तोला सुन र नगद साढे ६ हजार लुटेर लगेको एसपी प्रधानले बताए।

‘शेरचनले सुनका गरगहना लगाएको र एक्लै होटल सञ्चालन गर्दै आएकी हुँदा धेरै पैसा जम्मा गरिराखेको ठानेर उनीहरू लुट्ने उद्धेश्यले पुगेको देखिन्छ,’ एसपी प्रधानले भने, ‘तर हातमुख टेपले बेरेर लगाइएकी उहाँको त्यही कारण मृत्यु भएको देखियो।’

उनीहरूको उद्धेश्य हत्या गर्ने नभई लुटपाट गर्ने मात्रै रहेको कुरा अनुसन्धानबाट खुले पनि शेरचनको मुख र हातखुट्टा बाँधेर लडाइएको हुँदा त्यही कारण मृत्यु भएको प्रहरी अधिकारी बताउँछन्।

‘उहाँको होटल खोला किनारमा अलि एकान्तस्थलमा भएको हुँदा घटनाबारे कसैले थाहा पाउन सकेनन्,’ एक प्रहरी अधिकारीले भने, ‘उहाँमाथि आक्रमण भएको देखिएन तर समयमै उहाँको उद्धार नभएका कारण मृत्यु भएको देखिन्छ।’

शिवबहादुर र फरार रहेका उनका सहोदर दाजुको योजनामा शेरचनको होटलमा डाँका तथा चोरी गर्ने योजना बनेको तथ्य खुलेको घटना अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरू बताउँछन्।

केही समय पहिले फरार रहेका व्यक्तिलाई पक्राउ गर्न भारत पुगेको प्रहरी अधिकारीले उनलाई फेला पारेका थिए। भारतीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिने अन्तिम तयारी भइरहँदा उनी प्रहरीलाई झुक्याएर उम्कन सफल भएको एक प्रहरी अधिकारीले बताए।

‘सहोदर दाजु भाइ नै डाँका चोरीमा संलग्न रहँदै आएको तथ्य खुलेको छ,’ उनले भने, ‘फरार रहेका व्यक्तिको पनि विगत राम्रो छैन।’ गंगादेवीको हत्या र उनको होटलमा डाँका पर्न गएकामध्ये अधिकांशको विगत पेशवर अपराधसँग जोडिएको प्रहरी बताउँछ।

बाग्लुङको बडिगाड गाउँपालिका–३ सीमाखानी भएकी गंगादेवीले गुल्मीको दमखोला पुल नजिकै भाडामा एक्लै लामो समयदेखि होटल सञ्चालन गर्दै आएकी थिइन्। उनको हत्या गरिएको अवस्थामा आफ्नै होटलभित्रै गत माघ १५ गते विहान शव फेला परेको थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?