back to top

छोराको उपचारमा सम्पत्ति सकियाे, अस्पताल लैजाने भाडा जुटाउन पनि सकस

बुबा भन्छन्– स्कुलमा भविस्य कोर्ने समयमा अस्पतालको बेडमा तड्पिएको छ

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका–४ दिगाम अमराईका २१ वर्षीय सुनील सोमरेका दुवै मिर्गौला फेल भएका छन् । दिगामस्थित आदर्श माविमा कक्षा ८ मा पढ्दै गर्दा ०७५ सालमा उनलाई बिमारले छोप्यो ।

स्कुलको बेन्चमा बसेर भविष्य कोर्ने समयमा सुनील अहिले घर र अस्पतालको बेडबाट जीवन बच्ने आशामा सहयोगको आग्रह गरिरहेका छन् ।

बुबा हरिबहादुर सोमरे छोरा पढाएर ठूलो मान्छे बनाउन चाहन्थे। त्यसैले, स्थानीय फर्निचर उद्योगमा मरिमेटेर काम गर्थे। तर, छोराको उपचारमा सम्पत्ति सक्ने स्थिति बन्यो। सुरुमा सुनीललाई पिसाबमा समस्या देखियो। सोमरेले काठमाडौं पुर्‍याएर विभिन्न अस्पतालमा उपचार गराए। तर, समस्या झनै बल्झिँदै गयो।

खोकी लाग्ने र सुन्निने हुँदै अन्तत दुवै मिर्गौला फेल भए। एउटा छोरा, त्यसमाथि मिर्गौलाको गम्भीर समस्या देखिएपछि सोमरे परिवार बेचैन बनेको छ ।

आर्थिक जोहो हुने वेलासम्म हरिबहादुरले काठमाडौं पुर्‍याएर प्रत्येक तीन-तीन महिनामा डायलाइसिस गरे। तर, काठमाडौंको बसाइ खर्च थेग्न नसक्ने अवस्था बन्यो। सोमरे अहिलेसम्म १०–११ लाख छोराको उपचारमा खर्च गरेको बताउँछन्। स्थानीय फर्निचर उद्योगमा मजदुरी गर्ने सोमरे परिवारसँग मिर्गौला ट्रान्सप्लान्ट गर्न सक्ने स्थिति हुने कुरै भएन ।

अहिले सुनीलले गुल्मी अस्पतालमा डायलाइसिस गरिरहेका छन्। अहिले डायलाइसिसको खर्च जोगिएको छ। तर, हप्तामा दुईपटक अस्पताल जाने गाडीभाडासमेत निकाल्नै मुस्किल परेको बुवा हरिबहादुरले गुनासो गरे ।

स्थानीय भोजराज न्यौपानेले श्रमजीवी सोमरे परिवारको दुःखमा सहयोग गर्न सरकार र आमनागरिकलाई अनुरोध गरेका छन्। ‘छोरा बिमारले थला परेका छन्। परिवार आर्थिक जटिलताले तड्पिएको छ,’ उनले भने ।

सुनीलको उपचारमा सहयोगका लागि बुवा हरिबहादुर सोमरेको साइन रेसुंगा विकास बैंकको खाता नम्बर ०१२००७००५६३७६००००००१ मा सहयोग गर्न वा ९८४३८९६५३८ मा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?