दाङका किसानलाई हिउँदे बाली भित्र्याउने चटारो

दाङ । अहिले गर्मीको मौसम छ । कोही खेतबारीमा गहुँ काटिरहेका छन्, कोही घरमा चना, मसुरोलाई दाइँ लगाइ रहेका छन् भने कोही टाउकोमा बोकेर तोरी घरतर्फ ल्याइरहेका देखिन्छन् ।

अहिले यो दृश्य यहाँका खेतबारीमा काम गर्ने किसानको हो । उनीहरुलाई यतिबेला तोरी, गहुँ, मसुरो, चनालगायत हिउँदे बाली भित्र्याउन चटारो परेको छ ।

यसपटक दाङमा हिउँदमा खासै पानी परेन । अहिले खेतमा गहुँ, चना, मसुरो पाकेकाले काट्न सुरु गरिएको दङ्गीशरण गाउँपालिका–३ की ४२ वर्षीया मैती चौधरीले बताइन् ।

उनले भनिन्, “बाली भित्र्याउने बेला पानी पर्छ कि भन्ने डरले चर्को गर्मीमा पनि बाली भित्र्याउने हतार छ । पानी परेर भिज्यो भने वर्षभरिको मेहनत खेर जान्छ ।” उनले दुई बिगा जमिनमा गहुँ, एक बिघामा हिउँदे तोरी, १० कठ्ठामा मसुरो र पाँच कठ्ठामा चना खेती गरेको बताइन् ।

तुलसीपुर उपमहानगरपालिका–१० गोलौरीकी ४५ वर्षीया सरस्वती कुवँरले केहिले बादल, कहीले गर्मी भइराखेको भन्दै एक्कासी पानी पर्‍यो भने खेतबारीमा उत्पादन भएको अन्नबाली नष्ट हुने बताइन् ।

पानी पर्यो भने बाली स्याहार्न समस्या होला भनेर दिनभरि खेतमा काम गरिरहेको उनले बताइन् । “बाली भित्र्याउने बेलामा एक्कासी पानी पर्‍यो भने नोक्शानी हुन्छ । त्यसैले हतारमा बाली भित्र्याइरहेका छौँ”, उनले भनिन् ।

केही दिनदेखि यहाँको मौसममा बदली भई बादल लाग्ने र घाम लाग्ने भइरहेको छ । हिउँदभरि स्याहार गरेर जोगाएको अन्न पानी परेपछि कुहिने हो की भन्ने डर रहेको तुलसीपुर–६ की प्रमिला चौधरीले बताइन् । “हाम्रो छ महिनाको मेहिनत हो । पानी परे कुहिन्छ की भन्ने डर पनि छ”, उनले भनिन् ।

दाङ तोरी उत्पादनका हिसाबले उत्तम जिल्ला मानिन्छ । जिल्लामा दुई सिजनमा तोरीखेती गरिँदै आइएको छ । करिब १७ हजार हेक्टर क्षेत्रफलमा तोरीखेती हुने दाङमा वर्षेनी २५ हजार मेट्रिकटनको हाराहारीमा उत्पादन हुने गर्छ । जिल्लामा हाल दङ्गीशरण, शान्ति नगर र बवइलगायतमा तोरी उत्पादन हुने जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार जिल्लामा १२ हजार हेक्टरमा गहुँ खेती हुँदा ३० हजार मेट्रिकटनको हाराहारीमा उत्पादन हुन्छ भने २७ हजार छ सय हेक्टर जमिनमा मसुरो खेती हुँदा २० हजार एक सय मेट्रिकटन उत्पादन भइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?