चन्द्रकोटको गेखुङ फाँट सिँचाइ सुविधाले हराभरा

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका–८ तुराङस्थित गेखुङ् फाँटको खेतमा सिंचाइ सुविधा पुगेपछि यतिबेला हराभरा भएको छ ।

सिंचाइ अभावले हिउँदमा उजाड बन्ने खेतका फाँटमा यसवर्ष चैत महिनामा पनि मकैको बिरुवा उम्रिएका छन् ।

जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयको आयोजनामा हुग्दीखोला‐तुराङ सिंचाइ योजनाअन्तर्गत पक्की नहर निर्माण भएपछि वर्षौदेखि बाँझिएका खेत सिंचित भएका हुन ।

बाबुल पन्थ जेभी कम्पनीले रु एक करोड ९० लाखको ठेक्का मार्फत उक्त सिंचाइ योजना सम्पन्न गरेको हो । सिंचाइ अभावमा अलपत्र उत्पादनशील गेखुङ र तुराङफाँटमा सिंचाइ सुविधा पुगेपछि ठूलो राहत मिलेको स्थानीय उपभोक्ता भुबन बस्नेतले बताए ।

सिंचाइ योजनाको काम सम्पन्न गर्ने म्यादभन्दा एक महिना अगावै निर्माण व्यवसायीले सम्पन्न गरेका थिए । बाँझिएका खेतमा नहरको पानी पुगेपछि किसान निकै खुसी र उत्साहित बनेको हुग्दीखोला‐तुराङ सिंचाइ योजना उपभोक्ता समिति अध्यक्ष लोकनाथ पोख्रेलले बताए ।

सिँचाइ योजनाअन्तर्गत मूल नहरको लम्बाइ चार हजार छ सय मिटर छ । नहरबाट ८५ हेक्टर खेतीयोग्य जमिनमा सिंचाइ पुगेको छ ।

सिंचाइले त्यस क्षेत्रका एक सय ४४ घरधुरीका एक हजार एक सय ७९ जना उपभोक्ता प्रत्यक्ष लाभान्वित बनेको जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयका प्रमुख भरतप्रसाद सापकोटाले बताए ।

निर्माण व्यवसायी गगन केसीले सम्झौता समय अगावै योजना सम्पन्न गरेपनि भुक्तानी पाउन नसकेको बताए ।

आवश्यकताभन्दा न्यून बजेट प्राप्त भएको र थप बजेट निकासा हुन नसकेको जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय प्रमुख सापकोटाले बताए । उनले थप बजेटका लागि मन्त्रालयमा पहल गरिएको जानकारी दिए ।

पहाडी जिल्ला भएपनि गुल्मीका हजारौँ हेक्टर उत्पादनशील फाँटमा अझै सिंचाइ सुविधा पुग्न सकेको छैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?