गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–३ दर्लामचौर ठाढुङ्गामा खुल्ला लुम्बिनी प्रदेशस्तरीय डब्लु.टि.एफ. तेक्वान्दो प्रतियोगीता सुरु भएको छ । प्रतियोगीताको लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य डिल्लीराज भुसालले उद्घाटन गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले निस्वार्थ रुपमा एउटा विकट गाउँमा प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगीता आयोजना गर्ने आयोजक र नेतृत्व गर्ने दिपक घर्तिको बजेटका कारण बिचल्ली हुन नहुने बताए । उनले नजिकको अभिभावक स्थानीय पालिका भएकाले सहयोग गर्न आग्रह गर्दै आफुले व्यक्तिगत तथा प्रदेश मार्फत बजेट व्यवस्थापनको पहल गर्ने प्रतिवद्धता जनाए ।
इस्मा गाउँपालिकाका पूर्वअध्यक्ष लक्ष्मण बिष्टले माटोको मायाले आयोजना गरिएको प्रतियोगीताको व्यावस्थापन र सहयोगमा सवैको भूमिका जरुरी रहेको बताए । उनले अहिले तत्काल खेलाडी र प्रशिक्षकको व्यवस्थापन स्थानीय र वडा मार्फत गरेर पालिकामार्फत थप सहयोग आवश्यक रहेको बताए ।
इस्मा गाउँपालिका उपप्रमुख पार्वती कुवँरले पालिकाको सिमित बजेट हुँदा हुँदै पनि प्रतियोगीताको व्यवस्थापनमा केहि न केहि सहयोग गरिने बताइन् । उनले बिगतदेखि इस्मा डोजाङ्गको भूमिका र सहयोगका बारेमा छलफल चलिरहेकाले आवश्यक समन्वय गरेर सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।
कार्यक्रममा पूर्वगाउँपालिका उपाध्यक्ष बिमला केसी, नेकपा एमाले इस्मा गाउँकमिटी अध्यक्ष राजेन्द्र विक्रम कुवंर र पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले मन्तव्य राखेका थिए ।
साढे दुई बर्ष पहिले स्थापना भएको इस्मा दोजाङ्गले अहिले प्रथम खुल्ला प्रदेश स्तरीय डब्लु.टि.एफ तेक्वान्दो आमन्त्रण प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगीतामा गुल्मीसहित अर्घाखाँची, रुपन्देही, नवलपरासी, बाँके र रोल्पाका दुई सय बढि खेलाडी र प्रशिक्षक सहभागी भएका छन् ।
पहिलो दिन केहि खेल फाइनल भएपनि धेरै सेमि र क्वाटर फाइनल भएको इस्मा डोजाङ्गका अध्यक्ष बसन्त घिमिरेले जानकारी दिए । प्रतियोगितामा २४ देखि ६१ केजी तौल भएका खेलाडीबिच प्रतिस्प्रर्धा हुनेछ ।
दुई दिनसम्म एकल स्पाईरिङ, सामुहिक स्पाईरिङ लगायतका प्रतियोगिताहरु संचालन गरिने आयोजकले जनाएको छ । प्रतियोगीतामा बिजेताले २५ हजार, उपबिजेताले १५ र तृतिय हुनेले १० हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगीता सञ्चालन गर्न प्रशिक्षक र खेलाडीले घर–घरमा चन्दा संकलन गर्नुपर्ने बाध्यतामा छन् गरिरहेका छन् । खेल व्यावस्थापनको लागि आयोजकले सात लाख बजेको अनुमान गरेको छ । तर, अहिलेसम्म डेढ लाख रुपैयाँ संकलन भएको प्रशिक्षक दिपक घर्तिले बताए ।
उनले गाउँमा दुई सय बढि खेलाडी व्यावस्थापन, प्रशिक्षक, खर्च र पुरस्कारको जोहा गर्न डोजाङ्गलाई निकै चुनौति रहेको बताए । मातृभूमिको माया र पहिचानको लागि अनुमान गरिएको कुल सात मध्ये साढे पाँच लाख घाटा बजेट हुँदा पनि सहयोगको अपेक्षासहित प्रतियोगीता आयोजना गरिएको घर्तिले प्रतिक्रिया दिए ।

