गुल्मी । गुल्मीको मालिका गाउँपालिका–६ र ७ को माग्दी डिहीमा मजुवाका किसान वषौंदेखि आकाशे पानीको भरमा खेती गर्न बाध्य थिए ।
सिंचाई सुविधा नहुँदा यहाँका कृषक कष्टपूर्ण अवस्थामा खेती गर्दै आएका थिए भने जमिन बाँझिन समेत थालेको थियो । तर अहिले अजैको माग्दी खोलालाई व्यवस्थित कुलो बनाएर सिंचाई सुबिधा पुर्याइएपछि कृषकलाई सहज भएको छ ।
जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय गुल्मीले माग्दी–डिही–मजुवा सिंचाइको काम तीन आर्थिक वर्षमा सकेको हो । मझौला सिंचाई योजना अन्र्तगत खेतमा सिंचाइ सुविधा पुगेपछि यहाँका कृषक हर्षित छन् ।
कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख हरिहर शर्मा तिवारीले एक कार्यक्रमकाबीच काम सम्पन्न भएको सम्झौता पत्र उपभोक्ता समिति र कार्यालयलाई हस्तान्तरण गरे । तिवारीले यहाँ कृषिमा राम्रो सम्भावना रहेकाले अब कुलो मार्फत सिंचाइ गरेर प्रतिफल लिन कृषकलाई आग्रह गरे ।
सिंचाईको सुविधा पुगेसँगै यहाँका कृषकहरुलाई धान रोपाइँ गर्न आकाशे पानी कुर्नुपर्ने बाध्यता अन्त्य भएको मालिका गाउँपालिका ६ का पूर्ववडाध्यक्ष शोभाखर गिरीले बताए । वषौंदेखि कुलो नभएकै कारणले खोलामा सेउला राखेर सानो कुलो खनेर सिंचाई गर्ने गरेका कृषकलाई सहज हुने उनको भनाई छ ।
सिंचाई योजनामार्फत पानी पुगेपछि त्यहाँका कृषकहरुले धान गहुँ मकै, खालु तथा मौसमी र बेमौसमी खेती गर्न पाउनेछन् ।

सिंचाइ सुविधाको अभावमा जग्गा बाँझो छोडेर अन्यत्र गएकाहरु पनि फर्किएर खेती सुरु गर्न लागेको माग्दी–डिही–मजुवा कुलो उपभोक्ता समितिका अध्यक्ष यमबहादुर अर्यालले बताए । उनले अब यहाँका कृषकहरुले यो कुलाको सदुपयोग गरेर आम्दानी लिने बताए ।
३ हजार ५ सय मिटर लम्बाईसम्म कुलो निर्माण गरेर डिही खेतमा पानी पु¥याइएको जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय गुल्मीका डिभिजन प्रमुख भरतप्रसाद सापकोटाले बताए । उनले सिंचाइ सुविधा पुगेपछि कृषकले अब प्रतिफल योग्य खेती गर्नुपर्नेमा जोड दिए ।
संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर अब प्रतिफल मुखी बाली गर्नुपर्ने सापकोटाको भनाइ छ । सिंचाई आयोजना मार्फत ९ हेक्टर क्षेत्रफलमा ४२ घर धुरीले फाइदा लिन पाउने भएको जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय गुल्मीका सब–इन्जिनियर बालकृष्ण बुढाथोकीले बताए ।
जनश्रमदान बाहेक ९२ लाख ९ हजार रुपैयाँको लागतमा उक्त योजना उपभोक्ता समिति मार्फत काम सम्पन्न भएको छ । यस आयोजनामा ९ लाख बराबरको जनश्रमदान गरेका छन् ।
राज्यले करोडौं लगानी गरेपछि त्यसको प्रतिफल कृषकले खेती गरेर उठाउनुपर्ने मालिका गाउँपालिका–६ का वडाअध्यक्ष दिपक भण्डारीले बताए । उनले अब सिंचाई सुबिधा पुगेपछि बाँझिएका जमिनमा खेती गर्नुपर्ने बताए ।

