लुम्बिनीकाे तराईमा अत्यधिक गर्मी, ३ दिनसम्म तातो हावाको लहर चल्ने

काठमाडौं । तराईका जिल्लाहरुमा अत्यधिक गर्मी बढेको छ । यो क्रम आगामी तीन दिनसम्म जारी रहने मौसमविदले बताएका छन् ।

मौसमविद बिनु महर्जनका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा बढी गर्मी हुने छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तुलनामा मधेश प्रदेशमा अली कम गर्मीको सम्भावना छ । कोशी प्रदेशका तराई भूभागमा झनै कम गर्मीको सम्भावना रहेको मौसमविद महर्जनले बताइन् ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै आगामी ३ दिनसम्म (२०८१ जेठ १६ गतेदेखि २०८१ जेठ १८ गतेसम्म) तातो हावा तथा तातो लहरको सम्भावना रहेको जनाएको छ । त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ ।

मौसमविद महर्जनले भनिन्, ‘यसअघि जेठ १३ गतेदेखि १५ गतेसम्म पनि हिट वेभको पूर्वानुमान सार्वजनिक गरेका थियौं । त्यसैअनुसार भयो पनि । अहिले फेरि थप तीन दिन तातो हावाको लहर चल्ने सम्भावना छ ।’

लुम्बिनीकाे तराईमा अत्यधिक गर्मी, ३ दिनसम्म तातो हावाको लहर चल्ने - Lumbini News

लुम्बिनी र सुदूरपश्चिम क्षेत्रको तराई क्षेत्रमा तत्काल पानी पर्ने सम्भावना नभएकाले गर्मी बढ्ने गरेको छ । बंगालको खाडीमा विकसित रेमल चक्रवातको अप्रत्यक्ष असरको कारण नेपालको पूर्वी र मध्य भागमा वर्षा भएको थियो ।

यो चक्रवातको नेपालको पूर्वी भूभाग भन्दा पनि अझै पूर्व भारतको मेघालय आसपास कमजोर अवस्थामा छ । त्यसको असरले नेपालका कोशी प्रदेशमा सामान्य वर्षाको सम्भावना कायम छ ।

आज कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने र बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमान छ ।

कोशी प्रदेशका थोरै स्थानहरूका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा पनि आज अपराह्नतिर खण्ड–खण्डमा क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद महर्जनले जानकारी दिइन् ।

तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि असर हुनसक्ने देखिएकाले सोबाट बच्न महाशाखाले अनुरोध गरेको छ ।

तातो हावा तथा तातो लहरबाट बच्न गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ (जुस, सर्वत) आदि प्रशस्त मात्रामा पिउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?