दुःखसुख बिसाउने थलो बन्यो ‘ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र’

दाङ । दाङको घोराहीमा सञ्चालित ‘ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र’ ज्येष्ठ नागरिको दुःखसुख बिसाउने थलो बनेका छन् ।

घोराही–६ का ९१ वर्षीय चुडामणि पौडेल गाउँमा सञ्चालन भएको दिवासेवा केन्द्रमा दैनिक आउँछन् । त्यहाँ आफूसँग उमेर मिल्ने साथीसँग भलाकुसारी, सुखदुःख बाँड्न, भजनकीर्तन गर्न, नाच्न गाउन, कथाव्यथा सुन्न, सुनाउन उनलाई आनन्द लाग्ने गरेको बताए । लट्ठीको सहारामा दिवासेवा केन्द्र पुग्न पाउँदा पौडेल औधी खुसी देखिए ।

उनले भने, “पढ्न जान्ने र आँखाले साथ दिने साथीले रामायण महाभारतका श्लोक पढेर सुनाउनुहुन्छ, यो सुन्दा आन्नद आउँछ ।” घरपरिवारका सदस्य दिउँसो काममा व्यस्त हुँदा एक्लै बस्दा पट्यार लाग्ने र समय बिताउन गाह्रो हुने भएकाले केन्द्र पुग्ने पौडलेको भनाइ छ । “यहाँ आउन थालेपछि समय बितेको थाहै नहुँदो रहेछ”, उनले भने ।

घोराही–६ को वडा कार्यालयले शुभलक्ष्मी टोलमा वडाका ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र स्थापना गरेपछि त्यो दैनिक भेटघाटको थलो बनेको हो । घोराही–१५ की भगवता गौतम उमेरले ७१ वसन्त पार गरिन् । अचेल उनको दैनिकीमा परिवर्तन आएको छ ।

घोराही–१५ को उत्साहटोलमा रहेको ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा नगइ उनको मन मान्दैन । गौतमलाई बिहान ११ बजे दिवा सेवा केन्द्रमा पुगिसक्नुपर्छ, त्यहाँ पुगेपछि दुःख पीडा भुल्ने गरेको उनले बताइन् ।

“आफूसँगैका साथीसँग भेट हुन्छ । धेरै वर्षदेखि भेट् नभएका आफन्त र साथीसँग भेट हुँदा आनन्द आउँछ”, गौतमले भने । बर्षौँसम्म भेट नभएका साथीसँग भेट हुँदा र भलाकुसारी गर्न पाउँदा उनी दङग छन् । उनीहरु दिवा सेवामा आएर रमाइलो गर्ने गर्छन् ।

उपहानगरपालिकाको सहयोगमा चार वर्ष अघिदेखि सेवा केन्द्र सञ्चालनमा छ । घोराही–१४ का ७६ वर्षीय चित्रकान्त आचार्यलाई एकदिन पनि केन्द्र छुट्ट्याउन मन लाग्दैन “केन्द्रमा पुराना साथी भेट हुन्छन्, आफ्ना दुःखसुख साट्न पाइन्छ, मलाइ त घरमा बस्न मन लाग्दैन”, उनले भने । सो केन्द्रको आचार्य अध्यक्ष हुन् । घरमै बसेका ज्येष्ठ नागरिकलाई केन्द्रसम्म आउन सहजीकरण गरिरहेको उनले बताए ।

“आफूजस्तै साथी भेटिएपछि मनका कुरा गर्ने ठाउँमा मन भुल्दो रहेछ, नाचगान गर्दा झनै मज्जा आउँछ”, आचार्यले भने । उनका अनुसार २०७४ सालमा केन्द्र स्थापना भएको हो । घोराही उपमहानगरपालिका र १४ नम्बर वडा कार्यालयको सहयोगमा हल निर्माण गरिएको हो । वडाले प्रत्येक वर्ष घोराही नगरपालिकाले चिया नास्ताको व्यवस्था गरेको छ ।

“दैनिक २२/२५ ज्येष्ठ नागरिक आउनुहुन्छ, यहाँ आउनलाई कसैलाई रोकावट छैन । जम्मा हुनासाथै आरती गाउने, त्यसपछि भजन गाउने, गफ गर्ने र नाचगान गर्ने गरिन्छ”, उनले भने । चियाको व्यवस्था पनि केन्द्रमै छ । ज्येष्ठ नागरिकलाई खानेपानी र शौचालयको राम्रो व्यवस्था छ ।

घोराही उपमहानगरपालिकाले पालिकाभित्रका एक देखि १९ वडामा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना गरेको छ । घरभित्रै सीमित हुन पुगेका ज्येष्ठ नागरिक एकै स्थानमा जम्मा भएर दिन बिताउन सजिलो होस् भनेर केन्द्र स्थापना गरिएका हुन् ।

घोराही उपमहानगरपालिकाले रु पाँच लाख खर्चेर घोराही–१५ उत्साह टोलमा निर्माण गरेको दिवा सेवा केन्द्रमा दैनिक २५ देखि ३० ज्येष्ठ नागरिक भेला हुने गरेका केन्द्र व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम खनालले बताए ।

“साठी वर्ष नाघेका कुनैपनि ज्येष्ठ नागरिक सेवा केन्द्रमा आउन र दिनभर मन भुलाउन सक्नुहुन्छ । उहाँहरुलाई चिया र बिस्कुटको व्यवस्था नगरपालिकाले गरेको छ”, उनले भने ।

चार वर्षदेखि सञ्चालनमा आएको दिवासेवा केन्द्रमा भजनकीर्तनका लागि मादल, मुरली, खैजडी, मुजुरालगायत बाद्यवादनका सामग्री उपलब्ध छन् ।

ती सामग्री प्रयोग गरेर ज्येष्ठ नागरिक दैनिक भजनकीर्तन र नाचगान गर्छन् । “केन्द्रमा विभिन्न दाताबाट टेलिभिजन र कम्प्युटरको व्यवस्था गरिएको छ”, खनालले भने ।

विभिन्न किसिमका धार्मिक पुस्तक र दाङबाट दैनिक प्रकाशन हुने पत्रपत्रिका पनि आउने गरेको उनले बताए । धार्मिकग्रन्थको पाठ र प्रवचन कार्यक्रम समय तालिका अनुसार गरिन्छ । बिहान ११ देखि बेलुकी ३ बजेसम्म केन्द्रमा ज्येष्ठ नागरिकले समय बिताउँछन् ।

उपमानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाका प्रमुख मोतीकुमारी विश्वकर्माले १९ वडामा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनमा आएको बताइन् ।

ज्येष्ठ नागरिक समाजका गहना भएकाले उनीहरुको स्वास्थ्यलाई मध्यनजर गरेर समय समयमा स्वास्थ्य परीक्षणसमेत गर्ने गरिएको उनले जानकारी दिइन् । –रञ्जिता अधिकारी/रासस

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?