दुबईबाट फर्केर तरकारी खेतीमा रमाएका स्रष्टा

देउखुरी । बारीभरि टमाटर, करेला र काँक्रा लटरम्म फलेका छन् । भर्खरै टिपेको तरकारी बजार लैजाने तयारीमा देखिन्छन् ।

यो दृश्य घोराही उपमहानगरपालिका–६ लखुवारका स्रष्टा आचार्यले गरेको व्यावसायिक तरकारी बारीको हो । उनले चार बिघा चार कट्ठा जमिन भाडामा लिएर तरकारीखेती गरेका छन् । जग्गा भाडा मात्रै वार्षिक रु एक लाख २८ हजार तिर्छन् ।

उनले काँक्रा, बोडी, टमाटर, खरबुजा र घिरौँलालगायत तरकारी लगाएका छन् । “उत्पादित तरकारी वैशाखदेखि बिक्री सुरु गरेका छौँ”, उनले भने, “अहिलेसम्म चार लाख आम्दानी भएको छ ।” व्यापारी घरमै आउने भएकाले बिक्रीका लागि बजार लैजानुपर्ने झन्झट नभएको उनले बताए ।

वैदेशिक रोजगारीका क्रममा दुबईमा १३ वर्ष बिताएका स्रष्टाले फर्केपछि आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोचाइका साथ तरकारी खेतीमा लागेको बताए ।

दुबईमा ‘अप्रेसन कन्ट्रोलर’का रुपमा यातायातमा काम गरेको अनुभव उनीसँग छ । “उता पनि कमाई राम्रै थियो तर यतै काम गर्ने सोचले स्वरोजगार बन्न व्यावसायिक तरकारी खेतीमा लागेको हुँ”, उनले भने ।

तरकारीखेतीमा अहिलेसम्म १५ लाख लगानी भइसकेको उनको भनाइ छ । दुई जनालाई फार्ममै बस्ने व्यवस्था गरेका छन् । आवश्यकताअनुसार दैनिक छदेखि आठ जनालाई रोजगारी दिने गरेको उनले बताए ।

स्थानीय सरकारले विदेशबाट फर्केर कृषिमा लाग्ने युवालाई सहयोग गर्ने सुनेको तर आफूले त्यो अवसर नपाएको उनले बताए । सानो लगानीबाट आम्दानी गर्दै र त्यही आम्दानीलाई लगानीमा रुपान्तरण गरी बढाउँदै लैजाने उनको योजना छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?