कपिलवस्तु । १५ वर्षअघि कारागारबाट सुरुङ खनेर फरार एक जना पक्राउ परेका छन् । भारत उत्तरप्रदेश सिद्धार्थनगर जिल्ला चिल्हिया थाना घर भएका स्कुल मियाँ अन्सारी भनिने मोहम्मद स्कुललाई शिवराज नगरपालिका–७ बाट शुक्रबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख उपरीक्षक नवरत्न पौडेलले बताए ।
उनलाई डाँका मुद्दामा अदालतले ६ वर्ष ५ महिना ९ दिन कैद र चार लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । उनीसहित ८ जना कैदी ०६६ माघ २ गते कपिलवस्तु कारागारबाट सुरुङ खनेर भागेका थिए ।
उनीहरूले कोठाभित्रैबाट २१ फिट लामो सुरुङ खनेर कारागारको पूर्वी पर्खालबाट भागेका थिए । फरार कैदीबन्दी पक्राउ गर्ने अभियन अन्तर्गत उनी लुकीछिपी बसेको सूचना पाएपछि योजना बनाएर पक्राउ गरिएको उपरिक्षक पौडेलले बताए ।
सुरुङ खनेर भागेका ७ जना भने यसअघि नै पक्राउ परेका थिए । उनीहरूले करिब ढाइ फिट गोलाइमा सुरुङ खनेका थिए । रातभरी सुरुङ खनेर उनीहरू बिहान पख भाग्न सफल भएका थिए ।
उपरीक्षकमा पौडेल सरुवा भई आएपछि उनले अभियान चलाएर ९ महिनामा एक सय २६ जना फरार कैदीबन्दी पक्राउ परेका छन् । उनीहरूबाट एक सय ४७ वर्ष कैद सजाय र १६ लाख १३ हजार ५४५ रुपैयाँ जरिवाना भएका असुल्न बाँकी रहेको थियो ।

