तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले निजी विद्यालयलाई वर्गीकरण गर्ने तयारी गरेको छ ।
कार्यविधि बनाएर विद्यालयको वर्गीकरण गर्न लागिएको उपमहानगरपालिकाका शिक्षा तथा खेलकुद महाशाखाका अधिकृत मनबहादुर खड्काले बताए । उनले भने, “नगरप्रमुखबाट सैद्धान्तिक सहमति भइसकेको छ, हामीले अब वर्गीकरणका लागि कार्यविधि बनाउनेगरी तयारी गरेका छौँ ।”
विद्यालयलाई वर्गीकरण गरेर सोहीअनुसार शुल्क समायोजन गरिने उनको भनाइ छ । अहिले केही विद्यालयले चर्को शुल्क लिएको भन्ने गुनासो व्यापक रहेको भन्दै वर्गीकरण गरेमा त्यो समस्या हटेर जाने अधिकृत खड्काले बताए ।
“अहिले शुल्कमा पनि मनोमानी छ, कुन स्तरको विद्यालयले कति शुल्क लिने भन्ने स्पष्ट व्यवस्था छैन”, उनले भने, “त्यो हुँदा अभिभावक मारमा पर्ने अवस्था छ, यसलाई हटाउन हामीले वर्गीकरण गर्ने तयारी गरेका हौँ ।”
कुन वर्गमा परेको विद्यालयले कति शुल्क लिन पाउने भनेर तोक्नेगरी तयारी रहेको भन्दै यो नयाँ अभ्यास हुने उनको भनाइ छ ।
सबैभन्दा बढी शुल्क लिने तीन निजी विद्यालय
तुलसीपुरमा गुरुकुल एकेडेमीले बढी शुल्क लिने गरेको पाइएको छ । केही समयअघि तुलसीपुर उपमहानगरपालिकाभित्र सञ्चालित निजी विद्यालयसँग शुल्क माग गरिएको थियो ।
सोहीअनुरुप गुरुकुल एकेडेमीले नर्सरीका विद्यार्थीलाई मासिक रु चार हजार पाँच सय शुल्क लिने गरेको भनी उल्लेख गरेको छ ।
त्यसभन्दा माथिल्लो कक्षामा रु एक सयदेखि दुई सयका दरले वृद्धि गर्दै लगेको पाइएको अधिकृत खड्काले बताए । उनका अनुसार कक्षा ९ सम्म गुरुकुलले मासिक रु पाँच हजार पाँच सय शुल्क लिने गरेको छ ।
तुलसीपुरको संस्कार पाठशालाले नर्सरी तहमा मासिक रु तीन हजार पाँच सय मासिक शुल्क लिने गरेको भनी विवरण पठाएको छ ।
सोही विद्यालयले माथिल्लो कक्षामा नर्सरीको शुल्कमा रु दुई सयदेखि एक हजारसम्म बढाउँदै लगेको देखिन्छ । उक्त विद्यालयले कक्षा १० मा रु छ हजार पाँच सय मासिक शुल्क लिने गरेको भनी उल्लेख गरेको छ ।
आचार्य कुलमले नर्सरीमा मासिक रु एक हजार नौ सय लिने गरेको उल्लेख गरेको छ । विद्यालयले माथिल्लो कक्षामा प्रत्येक कक्षामा रु दुई सयका दरले बढाएको विवरणमा देखिएको छ ।
हाल तुलसीपुर उपमहानगरपालिकाभित्र ६६ वटा निजी विद्यालय छन् । तीमध्ये अन्य विद्यालयले भने रु नौ सयदेखि एक हजार आठ सयसम्मको शुल्क लिने गरेको जनाइएको छ । विद्यालयले शुल्कअनुसारको सुविधा दिएका छन् कि छैनन् भन्ने विषयमा पनि अनुगमन हुने उनले बताए ।
निजी विद्यालयले जम्मा विद्यार्थीमध्ये १० प्रतिशतलाई छात्रवृत्ति दिनुपर्ने हुन्छ । तर त्यो दिएको देखिँदैन । “कोही विद्यालयले एकै घरका तीनजना भर्ना भएमा एकजनालाई छुट दिएको, कसैले आफ्ना मान्छेलाई छुट दिएको, कसैलाई १० प्रतिशत छुट दिएको देखिन्छ”, अधिकृत खड्काले भने, “तर त्यसो गर्न मिल्दैन ।”
दश प्रतिशतलाई शतप्रतिशत नै छुट दिनुपर्ने भए पनि त्यसरी दिएको नपाइएको उनको भनाइ छ । त्यसलाई पनि नियमन गर्ने कार्य भइरहेको उनको भनाइ छ ।

