‘राम्रो भयो भाग्यमानी, नराम्रो भयो अभागी’

बाँके । बाँकेको जानकी–२ भैयापुरकी सोनु सुनारका श्रीमान् मलेसिया गएको २० वर्ष भएको छ । यस अवधिमा उनी दुईपटक मात्र घर आए । यही बीचमा उनका दुई छोरा जन्मिएका छन् ।

सुत्केरी हुँदा सुनारले श्रीमानको माया र साथ पाइनन् । सुत्केरी व्यथा लागेर छट्पटाउँदा होस् या दुःखसुखमा सुनारले श्रीमानलाई निकै सम्झिइन् ।

एक वर्षअघि मात्रै सुनारका श्रीमानको मोटरसाइकल दुर्घटनामा मृत्यु भयो । अहिले एघार र छ वर्षका छोरासँग जीवन बिताइरहेकी उनीलाई वैदेशिक रोजगारीबाट श्रीमानलाई समयमै फर्काउन नसकेको पीडाले पोल्छ ।

“फोनमा जतिबेला पनि फर्कनुभन्दा पनि एक वर्ष अरू बस्छु भन्दै टारिरहनुभयो । बिहे गरेर पनि लामोसमय सँगै बस्न पाइएन” उनले भनिन्, “अहिले छोरा टुहुरा भए, मलाई पनि जिन्दगी चलाउन गाह्रो छ ।”

वैदेशिक रोजगारीमा गएकाका श्रीमती कसरी बाँचेका होलान्, अवस्था कस्तो होला भनेर समाजले नबुझेको विषयमा सुनारले गुनासो पोखिन् । “राम्रो भयो भने भाग्यमानी भन्ने समाज श्रीमानको मृत्युपछि त्यही श्रीमानलाई खाई भनेर टोकेसो गर्छन्”, उनले भनिन्, “हाम्रो भावना बुझिदिने त कोही छँदै छैन ।”

सुनारको जस्तै पीडा बाँकेकै कोहलपुर नगरपालिका–२ गौरीडाँडाकी ३४ वर्षीया मीना रानाको पनि छ । उनीको १८ वर्षमै मागी विवाह भयो । दुई सन्तान जन्मिए । जसोतसो गुजारा चलिरहेको थियो ।

भविष्य सुरक्षित गर्न भन्दै श्रीमानलाई मलेसिया पठाइन् । थोरै रहर र धेरै बाध्यताका बीच उनीले श्रीमानलाई मलेसिया जान अनुमति दिएकी थिइन् । एक–दुई गर्दै वर्ष थपिँदै गए । तर श्रीमान् अहिलेसम्म फर्किएका छैनन् ।

एक–एक वर्ष भिसा थप गर्दै उनका श्रीमान् उतै बस्न थाले । दश वर्ष बितिसक्दा पनि श्रीमान् अहिलेसम्म घर नफर्किएको रानाले सुनाईन् । “छोराछोरी बाबुबिनाका सन्तानजस्तै भएका छन्”, उनले भनिन्, “श्रीमानले दुःख गरेर कमाएको भन्दै राम्रो लगाउन र मीठो खान सकिनँ, पखाईमै जवानी बित्यो ।” मलेसिया गएको केही वर्षपछि श्रीमान् राजेन्द्र रानाले फोन गर्न छाडेको मीनाले गुनासो गरिन् ।

“पैसा पनि पठाउन छाडे”, उनले भनिन्, “करकापपछि छोराछोरीको पढाइका लागि भन्दै थोरै पैसा पठाउँथे ।” अहिले त त्यही पैसा पनि पठाउन छाडेको उनले सुनाइन् । “अहिले त नेपाल आउन नसक्ने भन्छन्”, उनले भनिन्, “मन बेचैन छ । सोच्दासोच्दै मानसिकरूपमा बिरामी पर्न थालेको छु । अहिले मलाई पेटसम्बन्धी समस्याले सताएको छ । पैसा छैन उपचार गर्न सक्ने अवस्था पनि छैन ।”

आँशु खसाल्दै उनी थप्छिन्, “जसका लागि भनेर मैले परिवार हेरेर १० वर्ष पर्खेँ, उसैले तँसँग मेरो कुनै सरोकार छैन, म अब फर्किन्न भन्यो । अब मैले कसरी गुजारा गर्ने ? छोराछोरी कसरी पाल्ने ? ममाथि अन्याय भयो ।”

राना अहिले छोराछोरीका साथ नेपालगन्जमा कोठा भाडामा लिएर बसिरहेकी छन् । छोरी अढाइ वर्ष र छोरा पाँच वर्षको हुँदा उनका श्रीमान् मलेसिया गएका थिए । अहिले उनको छोरा १५ वर्ष छोरी साढे १२ वर्षको भइसकेका छन् ।

“मेरा छोराछोरीले बाबाको माया पाउन सकेनन्”, उनले भनिन्, “स्कुलमा बुवालाई बोलाऊ भन्दा छोरी रुँदै घर फर्केर आउँछे, त्यो आँशुको मूल्य कसले बुझिदिने ?” जाजरकोटबाट नेपालगन्ज झरेकी मीनाले अहिले गिट्टी–बालुवा बोक्दै छोराछोरीको जिम्मेवारीसँगै आफूलाई पालिरहेकी छन् । श्रीमान् फर्केर आएपछि परिवारसँगै मिलेर बस्ने सुन्दर सपना बुनेकी रानाको सपना सपनामै सीमित रह्यो ।

“उतै बिहे गरेको सुनेकी छु, आफ्नो दुःख कसलाई सुनाउँ ?”, उनले गहभरि आँशु पार्दै भनिन्, “मेरा लागि नभए पनि छोराछोरीको मुख हेरेर भए पनि फर्केर आएहुन्थ्यो ।” श्रीमानको व्यवहारले आजित भएर उनले विदेश जाने निधोसमेत गरेकी रानाले राहदानी पनि बनाएको बताइन् ।

तर छोराछोरी एक्लै छाडेर जाने हिम्मत नभएको उनले बताईन् । “म त घर न घाटकी भएँ, विदेश नजाउँ छोराछोरी कसरी हुर्काउँ, पढाउँ ?”, उनले भनिन्, ‘जाउँ भने छोराछोरीलाई कसरी एक्लै छाडेर जाउँ ?”

वैदेशिक रोजगारमा गएर घर नफर्किएका श्रीमानका कारण श्रीमतीहरूले भोग्नुपरेको पीडाको विषयमा अधिकारकर्मी सपनाश्री भट्टराईले जति नै हिंसा भए पनि सामाजिक इज्जतका कारण पनि वैदेशिक रोजगारमा गएका पुरुषका पत्नी खुलेर नआउने बताईन् ।

उनले भनिन्, “वैदेशिक रोजगारमा गएका श्रीमानले घर धानेर बसेका श्रीमतीलाई अनावश्यकरूपमा शङ्का गर्ने, पैसा नपठाउने र घरै नफर्कने कारणले कति महिला मानसिकरूपले पीडित बनेका छन् । ”

उनी थप्छिन्, “विदेशमा बसेर घरमा घर धानिरहेकी श्रीमतीमाथि अनावश्यक शङ्का गरेर पैसा नपठाउने र घरै नफर्कने कारणले धेरै महिला मानसिकरूपमा पीडित बनेका छन् । महिला आफ्नै इज्जतका कारण पनि खुल्न सक्दैनन् ।”

वैदेशिक रोजगारीमा गएका श्रीमानले पैसा नपठाउँदा र घर–परिवारप्रति वास्तै नगर्दा पनि महिला न्यायका लागि प्रहरीसम्म पुग्न नचाहेको उनको भनाइ छ ।

जिल्ला महिला बालबालिका सेवा केन्द्रकी प्रहरी सहायक निरीक्षक दिलसरा राना क्षेत्रीले विदेशमा बेपत्ता भएका वा घर नआउने श्रीमानबारे अहिलेसम्म कुनै उजुरी नपरेको बताईन् ।

उनले विदेश बसेको श्रीमानलाई झिकाउन नसके पनि सम्झाउने र महिलाको न्यायका लागि सहयोगी बन्न सक्ने जानकारी दिईन् ।

क्षेत्रीले भनिन्, “विदेश बसेको श्रीमान्लाई झिकाउन त सक्दैनौँ तर सम्झाउने र महिलाको न्यायका लागि सहयोगी बन्न त सक्छौँ भनेर हामीसम्म आइपुगेका मुद्दामा भने हाम्रो भूमिका केवल सहयोगीको मात्रै रहेको छ ।”

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?