गुल्मीका पाँच स्थानीय तह अझै भाडाको घरमा, वार्षिक ३९ लाख खर्च

गुल्मी । गुल्मीका स्थानीय सरकारले घरभाडामा वार्षिक रू ३९ लाखभन्दा बढी रकम खर्च गर्ने गरेको पाइएको छ । हालसम्म भाडामा बस्दै आएका जिल्लाका पाँच पालिकाले उक्त रकम घरभाडामा खर्च गरेका हुन् ।

स्थानीय तह स्थापना हुँदा सबै पालिका भाडाकै घरमा थिए । छ वर्षको अवधिमा केही पालिकाले प्रशासकीय भवन तयार गरे भने केहीले अस्थायी संरचना बनाएर कार्यसम्पादन सुरु गरेका छन् ।

जिल्लाका इस्मा, मुसिकोट, कालिगण्डकी, चन्द्रकोट र गुल्मीदरबार पालिकाले वार्षिक रू ३९ लाख चार हजार घरभाडामा खर्च हुने गरेको जिल्ला समन्वय प्रमुख दोर्णबहादुर खत्रीले बताए ।

कालीगण्डकी गाउँपालिकाको कार्यालय स्थापना भएदेखि भाडाको घरबाट सञ्चालन हुँदै आएको छ । अहिले कालीगण्डकीले घरभाडाबापत मासिक रू ६० हजारका दरले वार्षिक रू सात लाख २० हजार खर्चंदै आएको कार्यालयले जनाएको छ ।

गुल्मीदरबार गाउँपालिकाको कार्यालय पनि भाडाकै घरबाट सञ्चालन भइरहेको छ । गुल्मीदरबारले पनि मासिक रू ६० हजारका दरले वार्षिक रू सात लाख २० हजार घरभाडामा खर्चने गरेको पालिकाका सूचना अधिकारी नवराज घिमिरेले जानकारी दिए ।

मुसिकोटले मासिक रू ६६ हजार चार सयका दरले वार्षिक रू सात लाख ९६ हजार आठ सय घरभाडामै खर्च हुने सूचना अधिकारी प्रकाश घिमिरेले जानकारी दिए ।

इस्मा गाउँपालिकामा स्थानीय सरकारको पहिलो कार्यकालको अन्तिममा पालिकाको केन्द्र वडा नं ५ रजस्थलको रातापोखरा हुने गरी टुङ्गो लागेर कार्यालय बने पनि सञ्चालन हुन सकेन । हाल रजस्थल दोबाटमा घर भाडामा लिएर मासिक रू ३३ हजार भाडा तिर्ने गरेको पालिका कार्यालयले जनाएको छ ।

चन्द्रकोट गाउँपालिकाको कार्यालय चन्द्रकोट बहुमुखी क्याम्पसबाट सञ्चालन गरिएको छ । स्थापनाको समयमा निजी घरमा भाडा लिएर कार्यालय सञ्चालन गरेको चन्द्रकोटले केही समयपछि क्याम्पसमा कार्यालय सारेको थियो ।

अहिले चन्द्रकोटको मासिक रू एक लाख छ हजारका दरले वार्षिक रू १२ लाख ७२ हजार रकम घरभाडामा खर्च हुने सूचना अधिकारी शिव ज्ञवालीले जानकारी दिए ।

गत वैशाखसम्म मासिक रू ९७ हजार भाडा रहेकामा अहिले भाडा वृद्धि गरिएको उनले बताए । मुसिकोट नगरपालिकामा नयाँ बन्दै गरेको प्रशासकीय भवनको काम अन्तिम चरणमा पुगेको छ ।

चन्द्रकोट गाउँपालिकाका–४ शान्तिपुरमा पालिकाको भवन बन्दैछ । जिल्ला समन्वय प्रमुख दोर्णबहादुर खत्रीले आगामी चार वर्षमा सबै पालिकाका भवन बनाउने गरी समन्वय भइरहेको बताए ।

“कतिपय पालिकाका भवन निर्माणाधीन छन्, कतिपयको जग्गाको अन्तिम टुङ्गो लागेको छ”, उनले भने, “जनप्रतिनिधिको यो कार्यकालभरि सबै पालिकाका भवन बनिसक्नेछन् ।”

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?