बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३ तिनधुरेको जनता माध्यमिक विद्यालयको आयोजनामा पाठ्यक्रममा आधारित विज्ञान तथा प्रविधि प्रदर्शनी प्रतियोगिता सम्पन्न भएको छ ।
नगरपालिकाको शिक्षा शाखाको ‘एक विद्यालय, एक सिर्जनशील कार्यक्रम’ अन्तरगत शुक्रबार सम्पन्न कार्यक्रममा नगरभित्रका १२ विद्यालयका विद्यार्थी सहभागि थिए ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले नगरपालिकाले नगरका ४२ विद्यालयलाई समेटने गरी पहिलो चरणमा ८ वटा विद्यालय छनोट गरि यो कार्यक्रम सञ्चालन गरेको बताए ।
‘एक विद्यालय, एक सिर्जनशिल कार्यक्रम’ले विद्यार्थीहरुलाई नयाँ र ईनोभेटिक किसिमका कार्य गर्न उत्साहित बनाएको बताए । कार्यक्रमले विद्यार्थीहरुमा रहेको प्रतिभाको प्रस्फूटनमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।
नगरपालिकाको सामाजिक विकास समिति संयोजक रवि सेनचुरीले विज्ञान र प्रविधीतर्फ विद्यार्थीलाई आकर्षित गर्ने गरी नगरपालिकाले कार्यक्रम तय गरेको बताए ।
तिलोत्तमा–१३ का अध्यक्ष नारायण ढकालले विद्यार्थीले पढेका विषयलाई व्यवहारमा देखाउन प्रतियोगिता फलदायी हुने बताए ।
कार्यक्रममा बोलदै विद्यालयका प्राध्यानाध्यापक प्रचण्ड जिसीले विद्यालयले सञ्चालन गरेको श्रृजनशिल कार्यक्रम कतिको प्रभावकारी छ भन्ने प्रदर्शनी प्रतियोगिताले स्पष्ट पारेको बताए ।
प्रतियोगितामा दुर्गा मावि दुर्गानगर प्रथम, जनता मावि तिनधुरा द्धितिय, टिकुलिगड मावि तृतिय र दुर्गादत्त मावि शंकरनगर सान्त्वना भए । प्रतियोगितामा पुरस्कृत र सहभागि विद्यार्थीलाई नगरप्रमुख रामकृष्ण खाँण र उपप्रमुख जगेश्वरी चौधरीले नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरे ।

