उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री पाल भन्छनः ‘नेपालले भारतीय पर्यटक आकर्षित गर्नुपर्छ’

बुटवल । भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री जगदम्बिका पालले नेपालले भारतीय पर्यटक आकर्षित गर्ने नयाँ योजना तथा कार्यक्रम बनाउनुपर्ने सुझाव दिएका छन् ।

नेपालमा धार्मिक, सांस्कृतिक तथा प्रकृतिका क्षेत्रमा अद्वितीय पर्यटनको सम्भावना रहेको उल्लेख गर्दै यसतर्फ लक्षित कार्यक्रमबाट भारतीय पर्यटक नेपालतर्फ आकर्षित हुने धारणा राखे ।

बिहीबार बुटवल र पाल्पामा पर्ने लुम्बिनी केबलकार उद्घाटन समारोहमा सहभागी हुन बुटवल आएका उनले भने, “नेपालसँग पर्यटनको अधिक सम्भावना छ, उत्तर प्रदेशमा मात्र २४ करोडभन्दा बढी जनसङ्ख्या छ, नेपालको सम्भावनाका हर क्षेत्रमा भारतीय पर्यटकलाई लक्षित गर्ने हो भने विदेशी पर्यटक खोज्न नेपाल धेरै टाढा जानै पर्दैन ।”

उनले बुटवलमा बनेको लुम्बिनी केबलकार नेपालीका लागि मात्र नभई भारतीय पर्यटकका लागि पनि एक प्रमुख आकर्षण हुने बताए ।

भारतको उत्तर प्रदेश लुम्बिनी प्रदेशका तराईका जिल्लासँग सीमा जोडिएको प्रदेश भएकाले त्यहाँका जनताका लागि बुटवल र यहाँ बन्ने केबलकारलगायतका सबै खालका पर्यटकीय पूर्वाधार उनीहरुका लागि पनि आवश्यक गन्तव्य बन्दै जाने उनको धारणा थियो ।

उत्तरप्रदेशबाट लोकसभाका सदस्य रहेका पालले अब उत्तर प्रदेशका जनता केबलकार चढ्न हिमाञ्चल प्रदेश पुग्नुनपर्ने र लुम्बिनी केबलकार उनीहरुको पनि आकर्षण बन्ने बताए ।

उनले भने, “लुम्बिनी केबलकार नेपालीका लागि मात्रै होइन, छिमेकी देश भारतको उत्तर प्रदेशलगायत भारतीय जनताका लागि पनि हो ।” केबलकारको टप स्टेशनमा बनेको कामाख्या भगवती मन्दिर, प्राकृतिक सौन्दर्य र शीतल वातावरण भारतीय पर्यटकका लागि आकर्षण बन्ने उनको भनाइ थियो ।

लुम्बिनी भारतीय पर्यटकका लागि पनि अत्यधिक रोजाइको गन्तव्य रहेको र त्यसमा अब केबलकारसहितको यो नयाँ गन्तव्य थपिएकाले शान्त र शीतल वातावरणमा रमाउन चाहने भारतीय पर्यटकको बसाई अवधि लम्ब्याउन सजिलो हुने उनको भनाइ थियो ।

उनले नेपाल र भारतबीच सदियौँदेखि धार्मिक, सांस्कृतिकदेखि जनता जनताबीचको सम्बन्ध प्रगाढ रही आएको पनि बताए । उनले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै भारतको भ्रमणबाट पनि दुई देशबीचको सम्बन्ध थप सुमधुर बन्न सकेको बताए ।

उनले भने, “यो भ्रमणले दुई देशको सम्बन्ध सुधारका क्षेत्रमा उल्लेखनीय काम गरेको छ, यस अवसरमा नेपाल र भारतका बीचमा भएका सहमति र सम्झौता दुवै देशको सामूहिक हितका पक्षमा रहेको छ ।”

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने भनी सार्वजनिक गरेको प्रतिबद्धता ऐतिहासिक रहेको र यसले आगामी दिनमा भारत र नेपालको ऊर्जा क्षेत्रमा आपसी लाभ प्राप्त हुँदै जाने उनले बताए ।

लुम्बिनी प्रदेशका तराईका पाँच जिल्लाले भारतको उत्तर प्रदेश सीमासँग जोडिएको छ । नेपाल–भारत सीमा जोडिएका जिल्लामा मुख्य सीमानाका रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर र बाँकेको नेपालगञ्जमा जमुनाहा ठूला नाका र नवलपरासीको ठुटीबारी, रुपन्देहीकै कक्रहवा, दाङको कोइलाबासलगायतका छोटी भन्सार नाकाबाट दैनिकजसो भारतीय पर्यटक नेपाल आवतजावत गर्ने गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?