अर्घाखाँची । अर्घाखाँचीका अधिकांश ग्रामीण क्षेत्रमा यतिबेला बाँदरले मकै लगायतका बाली नोक्सान गर्नाले किसानहरूले हैरानी बेहोर्नु परेको छन् ।
छत्रदेव गाउँपालिका, किमडाँडा, अर्घा, वाङला शितगंगा लगायतका गाउँका किसान बाँदरको हैरानी झेल्न बाध्य भएका छन् । ठूलो समूहमा बाँदर बारीमा पस्न थालेपछि गाउँलेहरू चौकीदारी गरेरै बाली जोगाउन लागिपरेका छन् ।
वाङलाका दिपक अधिकारी बिहानदेखि साँझसम्मै बाँदर धपाउन बारीमा चौकीदारी गरेर बस्नु परेको बताउँछन् । ठूलो संख्या बारीमा बाँदर पसेर छिनभरमै मकैका घोघा भाँचेर नोक्सान गरिदिएर हैरानी बनाएको उनले बताए ।
छत्रदेव गाउँपालिका–४ की विमला खनालले ९ रोपनी खेतबारीमा मकै रोप्छिन् । पाक्दै गरेका मकै वन्यजन्तुबाट जोगाउन चौकीदारी नै बस्नुपर्ने उनको गुनासो छ । एक रोपनी जमिनमा अहिले मकैले घोघा लाग्दै गरेको छ ।
घोघामा राम्ररी दाना नलाग्दै बाँदरले भाँचेर नोक्सान गरिदिएको उनी बताउँछिन् । ‘अहिलेसम्म ८६ वटा मकैका घोघा बाँदरले भाँचेर र च्यातेर नोक्सान गरिदियो,’ उनले भनिन्, ‘चौकीदारी गर्दा पनि झुक्याएर मकैको बोटा भाँचिहाल्छ । जंगल नजिकैको खेतबारीमा मकै जोगाउन सकिँदैन ।’
ज्याला तिरेर जोत्ने, खन्ने, मल राख्ने गर्दा लगानी धेरै लाग्छ । परिवारमा थोरै सदस्य हुनेहरूले त बाली जोगाउन मुस्किल हुने गरेको स्थानीय किसानहरूको भनाइ छ ।
‘खाना पकाउन, गोठमा भैँसीलाई घाँस राख्दा र बारीका काल्नामा घाँस काट्ने मैका छोपेर जंगलबाट दौडिएर बाँदर आउँछन् र मकैको घोघा भाँचेर भागिहाल्छन्,’ विमला भन्छिन्, ‘दिनभर चौकीदार नबस्ने हो भने त दुःख गरेको खेती बाँदरकै लागि लगाइदिए जस्तो हुन्छ ।’
बाँदरबाट सबैभन्दा धेरै हैरानी हुने ठाउँमध्ये प्रमुख क्षेत्र हो छत्रदेव गाउँपालिका । यहाँका सबैजसो गाउँमा बाँदरको बिगबिगी अत्यधिक रहेको किसानहरू बताउँछन् । छत्रदेवका किसान सञ्जय पाण्डे भन्छन्, ‘जंगलका अग्ला सल्लाका रुखमा बाँदर बस्छन् । बारीमा जुन ठूलो घोघा छ बाँदरले त्यही भाँचेर नोक्सान गरिदिन्छ । गेडा नहाल्दैदेखि स्याहार नगरे जोगाउन मुस्किल छ ।’
गाउँले सबै मिलेर बाँदर लखेट्ने गरेको उनले बताए । उनले घोघा नराखेको बोटलाई पनि बाँदरले भाँचेर नोक्सान पारिदिने गरेको उनी बताउँछन् ।
जनप्रतिनिधिको छैन चासो
छत्रदेव गाउँपालिका–३ मौवापोखरीका पदमबहादुर खनाल स्थानीय जनप्रतिनिधिले बाँदर नियन्त्रणमा चासो नदिएको बताउँछन् । ‘चुनावका बेला भोट दिनुहोस्, बाँदर नियन्त्रण गरिदिन्छौं भनेर नेताहरूले भाषण गरे । जितेपछि कसैले पनि चासो देखाएनन्,’ खनालले भने ।
छत्रदेवसहित, सन्धिखर्क नगरपालिका, पाणिनि र मालारानी गाउँपालिकामा पनि बाँदरको आतंक छ । छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले केही वडाध्यक्षसहित कृषकलाई लिएर आइतबार प्रमुख जिल्ला अधिकारी कमलराज ढकाललाई भेटेर गुनासो पोखेका थिए ।
‘सिडीओ सा’बले सबै पालिकाबाट वन्यजन्तुको समस्याबारे लिखित निवेदन माग्नु भएको छ,’ श्रेष्ठले भने, ‘समस्यालाई केन्द्रमा पठाउँछु भन्नुभएको छ ।’
तर जहाँ गए पनि कृषकले बाँदरकै समस्याको गुनासो पोख्ने गरेको उनले बताए । अघिल्लो आर्थिक वर्षमा बाँदर हेरालुको लागि बजेट छुट्टाए पनि अहिले बजेट अभाव भएकाले बजेट छुट्टाउन नसकेको उनले बताए ।
‘बाँदरको समस्या हल गर्न केन्द्रीय सरकारले नै उपाय दिनुपर्छ,’ उनले भने । छत्रदेव गाउँपालिकामा तीन वर्ष अघि बाँदर धपाउन यन्त्र (बन्दुक) खरिद गरेर कृषकलाई वितरण गरिएको थियो । तर, त्यसले समस्या समाधान नगरेको किसानहरूको गुनासो छ ।
कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाभर १६ हजार ५ सय हेक्टर क्षेत्रफलमा मकै खेती हुन्छ । तर बाँदर लगायतका वन्यजन्तुले नष्ट गरिदिँदा किसानले अपेक्षाकृत रुपमा उब्जनी गर्न नसक्ने बताइन्छ ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी महेन्द्रकुमार ओझा भन्छन्, ‘वन्यजन्तुले वर्षमा ५ करोड रुपैयाँ बराबरको मकै नोक्सान गर्छ । वर्षेनि वन्यजन्तुले मकै नोक्सान गर्ने क्रम बढ्दो छ ।’ – कान्तिपुरबाट

