बुटवल । नेपाल वायुसेवा निगमले आजदेखि भैरहवा–दिल्ली र भैरहवा–हङकङ हवाई उडान सुरु गरेको छ ।
भैरहवाबाट काठमाडौँ हुँदै दिल्ली र हङकङका लागि आजबाट उडान सुरु गरेको नेपाल एयरलाइन्सको पहिलो उडान नै यात्रुविहिन बन्यो । उक्त रुटका लागि निगमले भदौ १० गतेदेखि टिकट बुकिङ खुल्ला गरेको थियो ।
नेपाल एयरलाइन्सका गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल प्रमुख माधव लोहोनीले भने, “टिकट बुकिङ त खुल्यो, तर यात्रुहरु आउनुभएको छैन । आज ट्रान्जिट निल नै छ । सायद प्रचार प्रसारको कमीले पनि होला, अर्को हप्ताबाट आउनुहुन्छ भन्ने आशा छ ।”
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले नेपाल एयरलाइन्सको विमान मलेसियाबाट साताको एक पटक भैरहवा आउने विमानमार्फत काठमाडौँ हुँदै दिल्ली र हङकङको उडान सुरु गरिएको बताए ।
उनका अनुसार हङकङ जाने यात्रुलाई काठमाडौंँ हुँदै गन्तव्यमा पु¥याइन्छ भने दिल्ली जाने यात्रुलाई काठमाडौँ विमानस्थलमा कनेक्टिङ फ्लाइटमार्फत गन्तव्यमा पठाइन्छ ।
कति छ भाडादर ?
काठमाडौँबाट हङकङ र दिल्लीको लागि जति भाडादर तोकिएको छ । त्यसमा २ हजार बढि भैरहवाबाट उडान हुँदा लाग्ने नेपाल एयरलाइन्सका गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल प्रमुख माधव लोहोनीले बताए ।
भैरहवाबाट अर्को ट्रान्जिट उडान सेप्टेम्बर ५ अर्थात भदौ १९ गते हुने छ । सो दिनको लागि आजको मितिमा टिकट बुकिङ गर्दा काठमाडौँबाट हंङकङको लागि इकोनमी तर्फको भाडादर ५१ हजार ५ सय ५१ तोकिएको छ ।
सो भाडा रकममा २ हजार थप गर्दा ५३ हजार ५सय ५१ भैरहवा–हङकङको भाडादर हुन आउँछ । विजनेस क्लास टिकटको १ लाख १ हजार १४ रुपैया छ । भैरहवाबाट उडान गर्दा यसमा पनि २ हजार थप भएर १ लाख ३ हजार १४ रुपैया हुने छ ।
सेप्टेम्बर ५ कै लागि काठमाडौँबाट दिल्ली उडान गर्दा इकोनमी क्लासको भाडादर ११ हजार २२७ रहेको छ । भैरहवाबाट काठमाडौँ ट्रान्जिट भएर उडान गर्दा १३ हजार २२७ रुपैया लाग्ने छ ।
हरेक मंगलबार विहान नेपाल एयरलाइन्सको जहाज मलेसियाको क्वालालाम्पुरबाट भैरहवा आएर काठमाडौँ जाने गर्दछ । भैरहवामा यात्रु झरेपछिको खाली सिटमा दिल्ली र हंङकङ जाने यात्रु राखिने नेपाल एयरलाइन्सले जनाएको छ ।
नेपाल वायुसेवा निगमले मलेसिया–भैरहवा रुटमा थत जेठ ३० गतेबाट उडान सुरु गरेको थियो । त्यसयता निगमले उक्त रुटमा १२ वटा उडान गरिसकेको छ ।

