बुटवल । ४४ औं विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा बुटवल गोलपार्कस्थित दुर्गा मन्दिर परिसरमा ‘सन्ध्याकालिन तिनाउ महाआरती’ सम्पन्न भएको छ ।
नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) लुम्बिनी प्रदेशको आयोजनामा आरती भएको हो । नेपालका प्रथक जगत गुरु ‘अनन्त श्री’ विभूषित मोहन शरण देवाचार्यले बुटवललाई धार्मिक पर्यटनको क्षेत्रमा विकास गर्न कार्यक्रमले सहयोग गर्ने उल्लेख गरे ।
प्राचिन तिलोत्तमा नदी (तिनाउ)ले यहाँको महत्वलाई बढाएको बताउँदै उनले धार्मिक तिर्थालु तथा भक्तजनलाई आकर्षित गर्नेगरी महाआरतीको कार्यक्रम आफैमा पुण्यको काम भएको उल्लेख गरे ।
यसैगरी बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले बुटवललाई भौतिक, शैक्षिक, आर्थिक तथा पर्यटनसँगै धार्मिक रुपमाले पनि परिचित गराइँने बताए ।
धर्म संस्कृतिप्रति हाम्रो सम्मान पर्यटन प्रबर्द्धन हाम्रो अभियान’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै आयोजित सन्ध्याकालिन आरतिको अवसरमा बोल्दै बुटवल उपमहानगरकी उप प्रमुख सावित्रादेवी अर्याल, नाट्टा लुम्बिनीकी अध्यक्ष रचना पन्त लगायतले बुटवललाई अब पर्यटकीय हिसाले विकास गर्नका लागि धार्मिक तिर्थहरुसँगको करिडोर निर्माणमा जोड दिए ।
नेपालका विभिन्न धार्मिक क्षेत्रहरुसँग जोडिएका स्थानहरुलाई बुटवलमा रहेका धार्मिक क्षेत्र र तिनको पहिचानसहित जोड्न सकेमा धार्मिक पर्यटन भित्राउन सकिने उल्लेख गरे ।
दुर्गा मन्दिरमा दैनिक अथवा साप्ताहिक आरती हुने हो भने छिमेकी उत्तर प्रदेशका धार्मिक पर्यटकलाई आकर्षिक गर्न सकिने विश्वास गरिएको छ ।

