कपिलवस्तु । कपिलवस्तुमा रोकिराखेको टिप्परमा मोटरसाईकल ठोक्किदाँ एक जनाको मृत्यु भएको छ ।
जिल्लाको बाणगंगा नगरपालिका–२ कोलोनी चोक नजिक लु २ ख १५०८ नम्बरको टिप्परमा लु ५६ प ४६२७ नम्बरको मोटरसाइकल ठोक्किदाँ सोही ठाउँका ५० वर्षीय रोमनाथ बरालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सुचना अधिकारी गंगा थापाले जानकारी दिए ।
उनका अनुसार बुधबार राति ९ः४० बजेतिर बराल सालझण्डीबाट आफ्नो घर पिपरा फर्कने क्रममा दुर्घटनामा परेका हुन् । दुर्घटनामा गम्भिर घाइते उनलाई उपचारका लागि कपिलवस्तु सामुदायिक अस्पताल पुर्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको थियो ।
टिप्पर चालक शिवराज नगरपालिका–२ का ३३ वर्षीय सन्तोषकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
करिब ६ वर्षदेखि बाणगंगा नगरपालिका–२ पिपरास्थित जनता माविमा अध्यापन गराउँदै आएका बराल विज्ञान विषयका संयोजक थिए । उनी अमेरिकाको बसाइ छाडेर गाउँमै शिक्षण पेशा गर्दै आएका थिए ।

