बुटवल । नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएसंगै किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
सामान्यतः अक्टोबर २ देखि मनसुन बाहिरिने गरेको भए पनि अझै मनसुन सक्रिय देखिएको छ । वरिष्ठ मौसमविद् वरुण पौडेलले विभिन्न विष्लेषणका आधारमा सोमबार मौसम बाहिरिने दिन अनुमान गरिए पनि यसपालि मनसुन केही दिन लम्बिएको हो ।
उनले अझै मनसुन बाहिरिन झन्डै हप्ता दिन लाग्न सक्ने अनुमान रहेको बताए । यो वेलामा हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा अवस्थित छ । साथै नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रसमेतको प्रभाव छ ।
अबको केही दिन मौसम बदली हुने र ठाउँठाउँमा वर्षासमेत हुने भएकाले यो वेलामा किसानले विशेष ख्याल गर्नुपर्ने पौडेलले बताए । ‘अहिले धानबाली भित्र्याउने वेला हो, काटेको धान छ भने भित्र्याइहालौँ र काट्ने वेलाको धान छ भने नकाटौँ । दुई–तीन दिन रहने यो प्रणालीले धान बिगार्छ, खुलेपछि मात्रै काटौँ,’ उनले भने ।
उनका अनुसार नेपालमा पश्चिमबाट मनसुन बाहिरिन्छ भने पूर्वबाट भित्रिन्छ । अहिले नेपालको कोशी, मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत छ । भारतको उडिसा, छत्तीसगढ, बिहारलगायत क्षेत्रमा पनि मौसम बदली छ ।
कसरी हुन्छ मौसम भित्रिने र बाहिरिने अनुमान
जल तथा मौसम विज्ञान विभागले दुई वर्षअघि मनसुन भित्रिने समय जुन १३ र बाहिरिने समय आज अक्टोबर २ लाई अनुमान गरेको थियो । त्यसअघि भित्रिने समय जुन १० र बाहिरिने समय सेप्टेम्बर २३ थियो । हरेक १० वर्षको विश्लेषण गरेर यसरी मिति अनुमान गर्ने गरिन्छ ।
पछिल्लो समयमा तोकेको मितिभन्दा ढिला गरी मनसुन बाहिरिरहेको छ । मनसुन भित्रिन पनि ढिला गरिरहेको छ । यही साल पनि मनसुन एक दिन ढिला गरी भित्रिएको थियो भने बाहिरिन पनि समय लाग्ने देखिएको छ ।
यो वर्ष नेपालमा जनु १४ अर्थात जेठ ३१ मा मनसुन भित्रिएको थियो । तर, त्यसको नौ दिनपछि मात्रै असार ८ गते मनसुन देशैभरि फैलिएको थियो ।
सुरुमा कोशी प्रदेश, मधेश र गण्डकी प्रदेशको पूर्वी भूभाग र बागमती प्रदेशका अधिकांश भू–भागमा मनसुन आगमन भएको थियो ।

