बाँके । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर अस्पतालमा २७ करोडमा किनिएको ‘लिन्याक’ मेसिन ९ महिनादेखि प्रयोगविहिन बनेको छ ।
पश्चिम नेपालको एक मात्र क्यान्सर अस्पतालले क्यान्सरका बिरामीको घाउ सेक्न प्रयोग हुने ‘लिन्याक’ मेसिन स्वास्थ्य मन्त्रालयको अनुदानमा गत वर्षको पुसमा खरिद गरेर ल्याइएको थियो ।
क्यान्सरको घाउको बाहिरी सेकाइमा प्रयोग हुने मेसिन सञ्चालनमा नआउँदा बिरामीलाई भरतपुर क्यान्सर अस्पताल र भक्तपुर क्यान्सर अस्पताल पठाउनुपर्ने बाध्यता रहेको अस्पतालका निर्देशक डा. नीरज भट्टराईले बताए ।
उनका अनुसार हरेक महिना घाउ सेकाउनुपर्ने २० बिरामीलाई अन्यत्र रेफर गरिँदै आएको छ । उनले अप्रेसन गरेर सेकाइ गर्न नपर्ने बिरामीलाई यहीँ अप्रेसन गर्छौँ । अप्रेसनलगत्तै सेकाइ गर्नुपर्ने देखियो भने भरतपुर र भक्तपुर क्यान्सर अस्पतालमा पठाउँछौँ,’ उनले भने ।
चिकित्सकहरूका अनुसार क्यान्सरका बिरामीको घाउ अप्रेसनअघि र पछि सेकाउनुपर्छ । लेक्टा कम्पनीको लिन्याक मेसिन नेपालस्थित मेडिसोलुसन प्रालिले आयात गरेको हो ।
कार्डियोथोरासिक एन्ड भास्कुलर सर्जन तथा क्यान्सर रोग विशेषज्ञ अस्पताल निर्देशक डा। भट्टराईले टेन्डरका वेला आयतकर्ताले बुझाएको एसएस कोडअनुसार मेसिन उपलब्ध नगरेपछि जडान नभएको बताए । ‘सम्झौतामा उल्लेख भएको देश र स्पेसिफिकेसन कोडमा फरक देखिएपछि मेसिन जडान गर्ने कुरै भएन,’ उनले भने ।
भट्टराईका अनुसार मेसिन खरिदबापतको कुल २७ करोडमध्ये ६० प्रतिशत भुक्तानी भइसकेको छ । थप भुक्तानी रोकिएको छ । सम्झौता भएपछि १० प्रतिशत, भन्सारमा आएपछि ५० प्रतिशत, अस्पतालमा पुगेपछि २० प्रतिशत र मेसिन सञ्चालनमा आएपछि २० प्रतिशत रकम दिने सम्झौतामा उल्लेख छ ।
सुशील कोइराला प्रखर अस्पतालमा किमो र अप्रेसनको सुविधा भने छ । यो अस्पतालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकले सेवा लिने गरेका छन् ।
लिन्याक मेसिनको एसएस कोड र आयात भएको देशको नाम फरक परेपछि क्यान्सर अस्पतालले छानबिनका लागि स्वास्थ्य मन्त्रालयसँग गुहार गरेको थियो । स्वास्थ्यको पाँचसदस्यीय छानबिन टोलीले पनि कुनै निकास दिन सकेन ।
मेसिनमा भएको एसएस कोड र आयातकर्ताले टेन्डरमा हालेको एसएस कोडको बारेमा छानबिन टोलीले कुनै निर्णय गर्न नसकेको निर्देशक डा। भट्टराईले बताए ।
स्वास्थ्यको टोलीले मेसिन जडान गर्न दिने, तर सञ्चालनमा आएपछि मात्र ४० प्रतिशत भुक्तानी दिनू भनी परिपत्र गरेको थियो । त्यही भएर आफूहरूले मेसिन सञ्चालनमा ल्याउन नसकेको उनको भनाइ छ । विज्ञटोलीले परीक्षण गरेर प्रमाणित गरेमा मात्र अस्पतालले सबै भुक्तानी दिने उनले बताए । –नयाँ पत्रिकाबाट

