पुरा हुँदै शुद्ध पानी पिउने होस्दीवासीको सपना

पाल्पा । गाउँमा खानेपानीको सुविधा नहुँदा स्थानीयले दूषित पानी उपभोग गर्न बाध्य छन् । सफा, शुद्ध र स्वच्छ पिउने पानीको अभावले खोला किनारका मूल, कुवाको पानी सिधैँ पिउन विवश छन्, रामपुर–१० होस्दीका स्थानीय ।

वर्षौँदेखि खानेपानीको आशामा रहेका यहाँका स्थानीयले अहिलेसम्म पनि सफा, शुद्ध खानेपानी उपभोग गर्न पाएका छैनन् । सरकारको ‘एक घर, एक धारा’ कार्यक्रमअनुसार घर–घरमा शुद्ध पिउने पानी पु¥याउने उद्देश्यले यहाँ होस्दी लिफ्टिङ खानेपानी आयोजना सुरु भएको छ ।

शुद्ध पिउने पानी उपभोग गर्ने स्थानीयको वर्षौँदेखिको सपना पूरा हुँदैछ । यसै आर्थिक वर्षदेखि होस्दी गाउँका करिब ८० परिवारलाई लक्षित गरेर खानेपानी आयोजनाको काम अगाडि बढाइएको छ ।

गाउँमा खानेपानी आयोजनाको काम अगाडि बढेपछि वर्षौँदेखिको घर–घरमा धारा जडान गरेर शुद्ध पिउने पानी उपभोग गर्ने सपना साकार हुन लागेकामा धेरै खुसी लागेको समाजसेवी तथा ९४ वर्षीय ज्येष्ठ नागरिक नुनबहादुर रानाले बताए ।

“खोलाका किनार, कुवाबाट पाइपमा ल्याइएको पानी वर्षामा लेदो पस्ने, पाइप बुझिने समस्या, हिउँदमा पानी सुक्दै जाँदा घरमा आइपुग्न मुस्किल, खानेपानी अभावमा धेरै समस्या भोगियो”, उनले भने, “अब त लिफ्टिङ योजना परेको छ, घर–घरमा धारा जडान गरेर पानी ल्याउने योजनाअनुसार गाउँमा काम भइरहेको छ ।”

सङ्घीय सरकारको रु ८० लाख क्रमागत बजेट सहयोगमा आयोजना सुरु भएको हो । बोरिङ निर्माण, ३० हजार लिटर र ५० हजार लिटरका ट्याङ्की निर्माण, फिल्टर ट्याङ्की, विद्युत्गृह र हेरालु आवास भवन, चारैतिर पर्खाल निर्माणको काम सम्पन्न भएको छ ।

होस्दी गाउँबाट करिब तीन सय मिटरमाथि छापडाँडामा दुईवटा ५० हजार लिटरका रिजर्भ ट्याङ्की निर्माणको काम सकिएको छ । आयोजनास्थलबाट गाउँमा पाइप लाइन बिछ्याउने काम भने बाँकी छ ।

स्थानीयवासीले बस्तीदेखि करिब पाँच सयदेखि आठ सय मिटर पर रहेको भालुखोला र जामुनेखोलाबाट पानी ल्याएर दैनिक उपभोग भइरहेको छ ।

खानेपानीको दिगो र भरपर्दो स्रोत नहुँदा खोलाका किनारमा रहेका मूलबाट ल्याइएको पानीमा कहिलेकाहीँ पाइपभित्र गेग्रान, माटो, ढुङ्गा पसेर पानी बन्द हुने, खडेरीयाममा पानीको अभाव यहाँका स्थानीयले धेरै सास्ती झेल्नु परिरहेको छ ।

बस्तीको माथिल्लो भागमा गेब्दीखोला सामुदायिक वन, तलको भागमा कालीगण्डकी नदी रहेता पनि यस क्षेत्रका जमिन सुक्खा छन् । कालीगण्डकी नदीको बहेको पानीलाई लिफ्टिङ प्रणालीमार्फत उपभोग गर्न नसक्दा यहाँका उर्वराशील जमिन सुक्खा बनेका छन् ।

रामपुर नगरपालिका १० का वडाध्यक्ष तोयानाथ सारुले वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका होस्दी क्षेत्रका स्थानीयलाई अब छिट्टै नै आयोजनाको काम सम्पन्न गरी घर–घरमा पानी वितरण गर्ने तयारी रहेको बताए ।

“अहिले उपभोग गरिरहेको पानी सफा, शुद्ध र स्वच्छ छैन, विभिन्न निकायमा ल्याब परीक्षण गर्न पठाउँदा खानयोग्य नभएको, चुनापानी बढी भएको पुष्टि छ, स्थानीयवासीले दूषित पानी उपभोग गरिरहनुपरेको छ”, उनले भने ।

आर्थिक वर्ष २०८०/८१ भित्रमा नै योजनाका काम सम्पन्न गरेर घर–घरमा धारा जडान गरी खानेपानी पु¥याउने लक्ष्यअनुसार काम धमाधम भइरहेको अध्यक्ष सारुले बताएका छन् । सरकारको ‘एक घर, एक धारा’ खानेपानी बनाउने नीतिअनुसार सबैका घर–घरमा शुद्ध, सफा र स्वच्छ खानेपानी पु¥याउन ल्याइएको यस योजनाले स्थानीयलाई ठूलो राहत हुने लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले बताए ।

“खानेपानी योजना नपुगेका गाउँबस्तीका तथ्याङ्क सङ्कलन गरेर सबैका घर–घरमा धारा जडान गरी लिफ्टिङमार्फत खानेपानी पु¥याउने कार्यमा आफू प्रतिबद्ध भएर लागेको छु”, प्रदेशसभा सदस्य श्रेष्ठले भने ।

निर्माणाधीन आयोजनाको अनुगमन गर्नुहुँदै प्रदेशसभा सदस्य श्रेष्ठले काम दु्रतगतिमा अगाडि बढेको र यसै वर्षभित्र सबैका घर–घरमा पानी वितरण हुने गरी काम गर्न सुझाव दिएका छन् । साथै यहाँ रहेका उब्जाउशील जमिनलाई सिँचाइको व्यवस्थापन गर्न नजिकै रहेको कालीगण्डकीको पानी लिफ्टिङ गरेर ल्याउने योजनासमेत छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?