बुटवल । पाल्पामा मृत अवस्थामा भेटिएका दुई पुरुषको पहिचान नखुलेपछि प्रहरीले हुलिया सार्वजनिक गरेको छ ।
जिल्लाको तिनाउ गाउँपालिका–५ चर्चरे स्थित सिद्धार्थ राजमार्गको छेउमा मंसिर २० गते करिब २२ वर्षीय युवक र मंगलबार तिनाउ–३ तल्लो सिद्धबाबा नजिकै करिब ५५ वर्षीय एक पुरुषको शव फेला परेको थियो ।
प्रहरीका अनुसार चर्चरेमा फेला परेका ५ फिट ३ ईन्च उचाइका युवको बायाँ हातको नाडीमा घडी र आँखाको ट्याटु रहेको छ ।
खैरो रङको ज्याकेट (वीनचिटर), हरियो रङको स्वीटर, कालो रङको ट्राउजर र कलेजी रङको टिसर्टसहित ती युवकको शव फेला परेको थियो । बैजनी रङको गलबन्दी र सेतो सोलमा खैरो रङको कन्भर्स जुत्ता लगाएको हुलिया प्रहरीले सार्वजनिक गरेको छ ।
यस्तै मंगलबार सिद्धबाबा नजिकै फेला परेका ४ फिन ९ ईन्च उचाईंका पुरुषले टाउको र घाँटीमा पहेलोमा रातो रंगको ओम नमःशिवाय श्रीराम लेखेको ३ वटा सल भिरेका छन् ।
प्रहरीका अनुसार खैरो रंगमा कालो बुट्टे स्विटर, खैरो रंगको टिसर्ट, कालोमा सेतो धर्का भएको हाप पाईन्ट, कालो फित्तावाला चप्पल लगाएको, कालो रंगको भर्निे र पछाडि बोक्ने २ वटा झोला बोकेको, रुद्राक्ष माला लगाएको, वर्ण गहुँ गोरो, मंगोलीयन अनुहार भएको तथा दाह्री जुँगा पालेका व्यक्ति रहेका छन् ।

