काष्ठकलामा अब्बल जग्गुलाल

घोराही । पैसठ्ठी वर्षीय जग्गुलाल चौधरी विगत लामो समयदेखि काठका मूर्ति बनाउने काम गर्दै आएका छन् । घोराही उपमहानगरपालिका–५ ठूलो गाउँ धर्ना निवासी जग्गुलाल पाँच दशक बढी समयदेखि मूर्तिकलामा लाग्दै आएका छन् ।

सानोमा माटोका घोडा, हात्तीलगायत देवीदेवताका मूर्ति बनाउँदा बनाउँदै काष्ठकलामा लागेका जग्गुलाल बाटो वा जङ्गलमा हिँड्दा राम्रो काठ देख्दा मूर्तिको आकृति मनमा आइहाल्ने गरेको बताए ।

उनले भने, “यो बनाउँछु भनेर बन्दैन, काठ देखेपछि के बन्छ भनेर मनमा आउने गर्छ, अनि त्यहीअनुसार काठलाई छिना, बसुला र आरीले कुँदेर मूर्ति बनाउने गर्छु ।”

अन्य काम छाडेर भए पनि आफू मूर्ति बनाउने काममा लाग्ने गरेको बताउने उनले पाँच दशकको अवधिमा थारु जातिका वेषभूषा, कला, संस्कृतिसँगै देवीदेवता, जनावर, चराचुरुङ्गीका धेरै मूर्ति बनाएर बिक्री गरेको बताए । काष्ठकला क्षेत्रमा अब्बल मानिने जग्गुलाल सुरुका दिनमा खेलौनाका लागि माटोबाट मूर्ति बनाउने गर्थे ।

माटोबाट मूर्ति बनाउँदा बनाउँदै उनी काठबाट मूर्ति बनाउन लागेको जनाउँदै जग्गुलालले भने, “सुरुमा त के नमिले जस्तो लाग्थ्यो, तर पछि विस्तारै हात बस्यो, अहिले कसैले माग गर्यो भने त्यहीअनुसार मूर्ति बनाउन सक्छु ।”

आफू थारु समुदायको भएकाले सानोमा चाडपर्व, विवाह लगायतका उत्सवमा घरका लागि आवश्यक स–साना माटाका मूर्ति बनाएर सिक्नुभएका जग्गुलालले पछि व्यावसायिक रूपमा मूर्ति बनाएको बताए ।

उनले घरको कमजोर आर्थिक अवस्थाका कारण मूर्ति बनाउने मात्र काम नगरेर घरको कामसँगै पेसामा लागेको बताए । घरको कामसँगै बनाएका मूर्ति रु दुई हजारदेखि रु सात–आठ हजार मूल्यसम्ममा बिक्री हुने गरेको उनको भनाइ छ ।

थारु समुदायसँग काठसम्बन्धी मूर्ति तथा चरा र सर्पसहितका वृद्ध मानिसले टेक्ने लट्ठी जिल्लाका विभिन्न ठाउँसँगै पोखरा, काठमाडौँ लगायतसम्म बिक्री हुने गरेको उनले बताए ।

वृद्ध उमेरमा टेक्नका लागि सजिलो र हेर्दा पनि आकर्षक देखिने भएकाले काठका लट्ठी धेरै बिक्री हुने गरेको बताए । कतिपय आफूले बनाएका थारु जाति, कला, संस्कृतिसम्बन्धी मूर्ति घोराही–१७ पनौरामा रहेको थारु सांस्कृतिक सङ्ग्रहालयमा राखिएका छन् ।

उनले पहिलेजस्तो मूर्ति बिक्री पनि नहुने भएकाले पनि खासै जाँगर नचलेको बताउँदै भने, “अहिले जस्तो पहिले मूर्ति बिक्छन् भन्ने थाहा पाएको भए धेरै मूर्ति बनाउने थिएँ, त्यो बेला काठका मूर्ति बिक्दैन थिए, त्यसैले महत्व पनि खासै थिएन, अहिले काठमा कुदिएका वा काठबाट बनाइएका मूर्तिको महत्व बढी भएर बिक्री पनि हुने गर्छ ।”

जग्गुलालले यो अवधिमा करिब पाँच सय बढी मूर्ति बनाएर बिक्रीसँगै थारु सङ्ग्रहालय, मन्दिरलगायतका ठाउँमा दिएको बताए । त्यसमध्येमा अधिकांश जनावर तथा चरा एवम् थारु जातिले लगाउने लुगा, बाघ, घोडा, थारु महिला आफ्ना वेषभूषामा सजिएका मूर्ति बिक्री हुने गरेको उनले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?