काठमाडौं । एक नेपाली युवा डेभलपरले बनाएको मोबाइल एप करिब ७० लाख रुपैयाँमा बिक्री भएको छ ।
बर्दिया बाँसगढी-५ का कर्ण बहादुर बुढा क्षेत्रीले बनाएकाे एन्ड्राेइड एप पिक अप लाइन्स – फ्लर्ट मेसेजेज् (pickup lines – flirt messages) याे रकममा बिक्री भएकाे हाे । स्नातक तहमा अध्ययनरत २२ वर्षीय क्षेत्रीले इजरायली कम्पनी राउन्ड्स एआई लिमिटेडलाई ५३ हजार डलरमा आफ्नो एप बेचेका हुन् ।
कार्कीका अनुसार यो एपले कोहीसँग मिठा, रमाइलो, सम्झनलायक कुराकानी गर्न सहयोग गर्छ । यसका लागि एपमा पिकअप लाइनहरूको संग्रह राखिएको छ ।
एन्ड्रोइड ५.१ भन्दा माथिको भर्सनमा चल्ने यो एपलाई कार्कीले गत वर्ष अर्थात् २०२२ नोभेम्बर महिनामा गुगल प्ले स्टोरमा अपलोड गरेका थिए । तर छोटो समयमा नै एपलाई धेरैले मन पराएपछि डाउनलोड सङ्ख्या पनि ह्वात्तै बढेको उनले सुनाए ।
एपभित्र चिजी, रोमान्टिक, क्युट, फन्नी आदि क्याटगोरीका पिकअप लाइन रहेका छन् । जसलाई सजिलै कपि गरेर एसएमएस, ईमेल अथवा मेसेन्जरमा प्रयोग गर्न सकिने एप डेभलपर कार्कीले जनाए । एप खरिद गर्ने इजरायली कम्पनी राउन्ड्स एआईले अक्टोबर महिनामा उनलाई खरिदको प्रस्ताव पठाएकाे उनले बताए ।
“विशेष गरेर अफ्रिका र युरोपका प्रयोगकर्ताहरू एपमा बढी रहेका थिए । आम्दानी पनि क्रमश: बढिरहेको थियो,” उनले अगाडि भने, “सोही समयतिर राउन्ड्स एआईले २५ हजार डलरमा एप किन्ने प्रस्ताव गर्यो ।”
एप खरिदको प्रस्ताव आएपछि स्क्याम जस्तो लागेर कम्पनीबारे अध्ययन गरेको र पछि वास्तविक भएको पत्ता लागेपछि थप छलफल अगाडि बढाएको उनले बताए ।
“एपलाई ८ लाख बढीले डाउनलोड गरिसकेका थिए । त्यस्तोमा किन्छुभन्दा शंका लागेको थियो । पछि कम्पनीबारे अध्ययन गरेपछि ढुक्क भएँ । अनि खरिदबिक्री सम्बन्धीको कुरा अगाडि बढ्यो,” उनले भने ।
त्यसपछि केही समयको कुराकानीपछि राउन्ड्स एआईले कर सहित ५३ हजार डलरमा एप खरिद गर्न नोभेम्बर १४ (कात्तिक २९ गते) मा राजी भएको उनले बताए ।
“मैले जाभा प्रोग्रामिङ ल्याङ्ग्वेज प्रयोग गरेर यो एप बनाएको थिएँ । एपको डाउनलोड अर्ग्यानिक (विज्ञापन नगरी प्राप्त भएको) थियो । एपको विज्ञापनमा लगानी शून्य थियो । एपमा कुनै कानूनी समस्या थिएन । रेभेन्यू दिनानुदिन बढिरहेको थियो । एप बिक्री गर्नुभन्दा एक महिना अगाडिको तुलनामा आम्दानी दुई गुणाले बढेको थियो । यिनै कारण मेरो एप किनेको हुन सक्छ,” उनले दाबीका साथ भने ।
अहिले कार्कीले आफ्नो एप उक्त कम्पनीलाई हस्तान्तरण गरिसकेका छन् । साथै डिसेम्बर ८ (मंसिर २२) सम्ममा एप बेचे बापतको पैसा उनले पाइसकेका छन् । एप खरिद गर्ने कम्पनीले एप किनबेच गरिरहने भएकाले केही समय लागेको उनले सुनाए ।
हाल उनी ललितपुरस्थित युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेजमा तेस्रो वर्षमा अध्ययनरत छन् । एसईई पछि सीटीईभीटीको तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ अध्ययन गरेका उनी २०२० देखि एन्ड्रोइड एप डेभलपमेन्टमा लागेका थिए ।
सोही समयमा अर्को साथीसँग मिलेर ‘काकी डेभलपर’ मार्फत एप बनाउँथे । केही कारणवश अर्का साथी छुट्टिए । तर उनले भने सोही नाममार्फत एप बनाउने र प्ले स्टोरमा अपलोड गरिरहे ।
अहिलेसम्म उनले प्ले स्टोरमा दुई दर्जन बढी एप अपलोड गरिसकेका छन् । छोटो समयमा नै एप डेभलपमेन्टबाट सफलता हात पारेका उनी नेपाली प्रविधि क्षेत्रमा योगदान दिने सोचमा छन् ।
यस अगाडि फ्रिल्यान्सिङ प्लेटफर्म अपवर्कमा समेत सक्रिय उनी विदेश जानुनपर्ने, बरु नेपालमै काम गरेर आम्दानी गर्न सकिने बताउँछन् ।

