व्यवसायमा जोडिएका महिला आत्मनिर्भर

तुलसीपुर । कुनै समय चुलोचौकोमै सीमित हुने महिला पछिल्लो समय सहकारीको सहयोगमा आत्मनिर्भर हुन थालेका छन् । सहकारीबाट महिलाले तरकारी, पशुपालनलगायत अन्य पेसा पनि गर्ने गरेका छन् ।

लमही नगरपालिका–२ स्थित समुन्नति सामाजिक उद्यमी महिला सहकारी संस्थामा आबद्ध महिला आर्थिक क्षेत्रका साथै सामाजिक क्षेत्रमा पनि अग्रसर हुन थालेका छन् ।

उक्त सहकारीमा सात सय ३३ महिला आबद्ध छन् । ती महिलाले खाद्यान्न सङ्कलन, रासायनिक मल बिक्री, बीमा, बङ्गुरका पाठापाठी, खसीबोका, बेसार र मकैको कारोबार गर्दै आएको संस्थाका अध्यक्ष अञ्जु चौधरीले बताइन् ।

“अब महिला चुलोचौकोमा मात्रै सीमित छैनन्, आफैँ पनि आत्मनिर्भर हुन्छन् भनेर देखाउन हामी सहकारीमा आबद्ध भएका हौँ”, उनले भनिन्, “अहिले हामी घरखर्चका लागि अरूको हात थाप्नुपर्ने अबस्थामा छैनौँ ।”

उक्त सहकारीको बचत रु तीन करोड ३० लाख ८३ हजार रहेको छ । सहकारीले कृषि, बाख्रापालन, व्यापार, शिक्षा, उपचार, पशुपालन, कुखुरापालनलगायत क्षेत्रमा कर्जा दिने गरेको गरेकाले सहकारीमा आबद्ध महिलालाई हरेक काम चलाउन सहज हुने गरेको सदस्य मधुलिका चौधरीले बताइन् ।

सहकारीले सामाजिक तथा सेवामूलक कार्य पनि गर्दै आएको छ । समाजमा कृत्रिम गर्भाधान कार्यक्रम, थुनेलो रोग परामर्श, जुकाको औषधि सहयोग, पिपिआर खोप, घाँसको बीउ वितरण, पशु स्वास्थ्य शिविर, आकस्मिक ऋण सहयोगलगायत कार्य पनि गर्दै आएको छ । साथै आगामी दिनमा उत्पादित तरकारी सङ्कलन तथा प्रशोधन केन्द्र निर्माण गर्ने योजना रहेको छ ।

सहकारीलाई हेफर इन्टरनेसनल नेपाल, ग्रामीण महिला उत्थान केन्द्रलगायतले सहयोग गर्ने गरेका छन् । विसं २०७१ फागुनमा २७ महिलाले उक्त सहकारी संस्थाको स्थापना गरेका थिए ।

तत्कालीन सोनपुर गाविस–२, ३, ७ र ९ लाई कार्यक्षेत्र बनाएर स्थापना गरिएको सहकारीले हाल लमही नगरपालिका–९ लाई कार्यक्षेत्र बनाएको छ । जसमा ३५ वटा समूह आबद्ध छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?