परासी । पश्चिम नवलपरासीको पाल्हिनन्दनबाट लागुऔषधसहित ४ युवा पक्राउ परेका छन् ।
बुधबार जिल्लाको पाल्हिनन्दन गाउँपालिका–४, लोहरौलीमा रहेको एक गेस्ट हाउसको कोठामा कारोबार हुँदै गर्दा प्रहरीले छापा मारेको थियो ।
जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी (डीएसपी) रेशम बोहोराका अनुसार पक्राउ पर्नेमा पाल्हिनन्दन गाउँपालिका–३, बेलासपुरका ३० वर्षीय जमालुद्दिन नाउ, सोही ठाउँका २४ वर्षीय विक्रम सहानी, २२ वर्षीय सन्तोष गोसाईं र पाल्हिनन्दन ४, लोहरौलीका २५ वर्षीय सोनु पटेल छन् ।
उनीहरुको साथबाट विभिन्न तीन प्रकारका १५० एम्पुल लागुऔषध बरामद भएको छ । लागुऔषध खरिद-बिक्री तथा ओसारपसार गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरु बसेको ठाउँमा छापा मारेको थियो ।
पक्राउ परेका चारै जनालाई लागुऔषध ओसारपसार कसुरमा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

