बुटवल । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त भएका छन् ।
नेकपा (माओवादी केन्द्र)सहित ८ दलका ५२ जना र एकजना स्वतन्त्र सांसदको समर्थनमा संविधानको धारा १६८ (२) अनुसार चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री नियुक्त गरेका हुन् । २७ पुसमा मुख्यमन्त्री बनेका एमालेका लिला गिरीले विश्वासको मत लिन नसकेपछि पदमुक्त भएका थिए ।
दाङको तुल्सीपुर उपमहानगरपालिका–५ डुम्रिगाउँमा जन्मिएका चौधरीले २०५७ सालमा नेपाली काँग्रेसको क्रियाशिल सदस्यता लिएर सक्रिय राजनीतिको सुरुवात गरेका थिए । ०६५ सालमा कांग्रेसको महासमिति सदस्य उनी निरन्तर सोही जिम्मेवारीमा छन् ।
चौधरी पहिलो पटक २०७० मा संविधानसभाको सदस्यमा निर्वाचित भएका थिए । उनले २०७३–०७४ सम्म राज्य मन्त्रीको रुपमा समेत काम गरेका छन् । देश संघीयतामा गएपछि भएको पहिलो निर्वाचनमा उनी दाङ निर्वाचन क्षेत्र नं ३ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
लुम्बिनी प्रदेशको सार्वजनिक लेखा समितिका सभापतिको जिम्मेवारीमा रहेर काम गरेका उनी तत्कालिन मुख्यमन्त्री कुलप्रसाद केसीको मन्त्रीमण्डलमा पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री बनेका थिए । उनी हालै सम्पन्न निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ (१) बाट विजयी भएका हुन् ।
१७ वर्षको कलिलो उमेरमा नै सामाजिक, राजनीतिक र आर्थिक रुपमा विपन्न तथा पिछडिएका जनताको उत्थानको लागि संगठन बनाएर आफ्नो जीवनकालको महत्वपूर्ण कामको सुरुवात उनले गरेका थिए ।
नेपालको तल्लो तराई क्षेत्रमा बसोबास गर्ने, राज्यको सेवा र स्रोतबाट बञ्चित आदिवासी थारु, कमैयालगायत अन्य समुदायको उत्थानको लागि विभिन्न अभियानमार्फत उनले योगदान गरेका छन् । उनले रात्री शिक्षाको माध्यमबाट दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायतका जिल्लाका लाखौं सीमान्तकृत समुदायलाई ज्ञान बाँडने काम उनले गरे ।
चौधरीले अशोका फेलोशिस अवार्ड, संयुक्त राज्य अमेरिका (१९९२), रिवोक अन्तराष्ट्रिय मानवअधिकार पुरस्कार, संयुक्त राज्य अमेरिका (१९९४), द एन्टिस्लेभरी इन्टरनेशनल अवार्ड, यूके (२००२), दासता विरुद्ध काम गरेवापत नेपाल सरकारबाट सुप्रवल गोर्खा दक्षिण बाहु तेस्रो (१९९४) र सुप्रबल गोर्खा दक्षिण बाहु त्रिशक्ति पट्ट (२००४) र राम कृष्ण जयदयाल हार्मनी अवार्ड, भारत (२००३) पुरस्कार प्राप्त गरेका छन् ।
राजनीतिक परिवर्तन, पिछडीएका समुदायको सशक्तिकरणमा लागेका चौधरीलाई तत्कालिन निरंकुश पञ्चायत शासन कालमा पटक पटक प्रहरी हिरासतमा बस्नुप¥यो । उनले स्नातकसम्म अध्ययन गरेका छन् ।

