काठमाडौं। सरकारले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा सञ्चालनको तयारीका लागि समिति गठन गरेको छ ।
पूर्वसचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा लगानीविज्ञ घनश्याम ओझा, पर्यटन मन्त्रालयको हवाई महाशाखाका प्रमुख बुद्धिसागर लामिछाने, लगानी बोर्डका सहसचिव, सदस्यसचिव र नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक दीपेन्द्र श्रेष्ठ सदस्य रहने गरी पाँच सदस्य समिति गठन गरिएको हो।
समितिले गौतमबुद्धसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र पोखरा अन्तराष्ट्रिय विमानस्थल पीपीपी मोडेलमा विमानस्थल सञ्चालनबारे अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउनेछ।
नागरिक उड्डयन प्राधिकरणको बोर्ड बैठकबाट तीनवटा विमानस्थलको सञ्चालनका लागि निजी क्षेत्रलाई दिने अवधारणा बनाएर प्रस्ताव पेस गरेको थियो । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने कम्पनीलाई नै यी तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मेवारी दिन लागिएको छ।

