तिलोत्तमा । रुपन्देहीको सिद्धार्थनगरमा हुने ‘२० औँ सामूहिक खेल महोत्सव–२०८०’ बिहीबारदेखि हुने भएको छ ।
‘उत्कृष्टतालाई अंगाली महानतालाई मूर्त रुप दिन खेलकुद’ भन्ने नाराका साथ सामूहिक विद्यालय परिवार, रुपन्देहीको आयोजनामा हुने खेल महोत्सव ३ दिनसम्म चल्ने सामूहिक विद्यालय परिवारका अध्यक्ष युवराज पोखरेलले जानकारी दिए ।
विद्यार्थीलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ राख्न एवं उनीहरुलाई स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिभा प्रष्फुटनका लागि प्लेटफर्म प्रदान गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको उनले बताए ।
महोत्सवमा झण्डै १ हजार २ सय खेलाडी, २ सय अफिसिएल र ८ हजार दर्शकको सहभागिता रहनेछ । छात्र तथा छात्रालाई विभिन्न पाँच समूहमा विभाजन गरी खेलका चरण सम्पन्न गरिने उनले बताए ।
खेल महोत्सव सम्पन्न गर्नका लागि करिब १० लाख ७१ हजार खर्च लाग्ने अनुमान गरिएको छ । महोत्सवमा पालिका भित्रका १९ विद्यालयको सहभागिता रहनेछ ।

