आयआर्जनमा जोडिदै पूर्वकमलरी, जीविकोपार्जन सहज

देउखुरी । घोराही उपमहानगरपालिका–२ निमुरियाकी दामी चौधरी पूर्वकमलरी हुन् । कमलरी बस्दा उनले धेरै दुःख भोगिन् । गुरधौली महिला कृषि समूहमा आवद्ध उनले समूहमा बसेर धेरै सीप सिकिन् ।

समूहबाट सिकेका सीपलाई व्यवहारमा लागू गर्नुपर्छ भनेर बङ्गुरपालन, तरकारी खेती र घरमै नास्ता पसल सञ्चालन गरेको दामीले बताइन् । काम गर्न थालेपछि जीविकोपार्जनमा सहज भएको उनको भनाइ छ ।

“म पूर्व कमलरी हुँ, अर्काको घरमा काम गर्न बस्दाको दुःख भनी साध्य छैन । यो संस्थाले हामीलाई मुक्ति दियो र बाँच्न सिकाएको छ”, दामीले भनिन्, “अहिले व्यावसायिक रुपमा काम गर्न थालेपछि आर्थिक रुपमा सबल बन्दै गएको छु ।” समूहमा आवद्ध भएर ज्ञान सीप आर्जन गरी व्यवहारमा लागू गर्दै आएकी दामीले कमलरी जीवनबाट मुक्ति पाएपछि खुसी मिलेको बताइन् ।

घोराही–२ सुर्केडाँगीकी सन्तोषी चौधरीले अहिले व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएकी छन् । केही वर्षअघिसम्म उनले निर्वाहमुखी खेती गर्दै आएकी थिइन् । मुक्त कमलरी, विपन्न, असहाय महिलाको उत्थानका लागि पैरवी गर्दै आएको मुक्त कमलरी विकास मञ्चले उनको गाउँ टोलमा स्थापना गरेको जलजला महिला कृषि समूहमा सन्तोषी आवद्ध भएपछि व्यावसायिक तरकारी खेती थालेको बताइन् ।

“पहिले निर्वाहमुखी खेती गर्दै आएको थिएँ । सीपसँगै व्यवहारिक पक्षका बारेमा जानकारी पाएपछि व्यावसायिक रुपमा खेती गर्न थालेको छु । कमाई पनि राम्रो भएको छ । यसैबाट घरव्यवहार चलेको छ”, सन्तोषीले भनिन् ।

उनी जस्तै ३० जना महिला समूहमा आवद्ध भएर सीप सिक्ने, आत्मविश्वास जगाउने र वित्तिय साक्षरताका बारेमा सीपसँगै आवश्यक ज्ञान हासिल गरेर कृषि पेसामा जोडिएका छन् । संस्थामा जोडिएर व्यावसायिक तरकारी खेती गर्न थालेपछि सन्तोषी बाह्रै महिना खेतबारीमा व्यस्त हुन थालेकी छन् ।

घोराही–८ बेलुवाको सगरमाथा महिला समूहकी अध्यक्ष तिला चौधरीले मुक्त कमलरी विकास मञ्चले आफूहरुलाई काम गरेर आत्मनिर्भर हुन सिकाएको बताइन् । चौधरीले हिजोआज आफ्नो दैनिकी फेरिएको बताइन् ।

उनले कमलरी जीवनमा भोगेका दुःख सम्झिन चाहादिन्न् । अहिले व्यावसायिक बाख्रा, कुखुरापालन र तरकारी खेतीमा जोडिएकी तिलालाई घरमा सबैको साथ मिलेको छ । उनले बनाएको खोरमा अहिले कुखुरा हुर्किरहेका छन् । तरकारी बिक्री गरेर आम्दानी हुन थालिसकेको छ ।

मञ्च कमलरी जीवनबाट मुक्ति पाएका, गरिब तथा महिलाको उत्थानका लागि पैरवी गर्न स्थापित संस्थाले खेल्दै आएको भूमिकाका कारण समस्या समाधानसँगै आगामी योजनाका बारेमा अघि बढ्न सहज भएको तिलाको भनाइ छ ।

पूर्वमुक्त कमलरीको अगुवाइमा विसं २०६७ मा सामाजिक संस्थाका रुपमा स्थापित मुक्त कमलरी विकास मञ्च एक दशकयता सङ्गठित रुपमा दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर जिल्लामा लक्षित वर्गको शिक्षा, सशक्तीकरण, जीविकोपार्जन तथा पुनःस्थापनालगायत हक अधिकारको सवालमा पैरवी गर्दै आएको छ ।

मुक्त कमलरी सम्बन्धी गरिएका सम्झौता कार्यान्वयनका लागि सरकारसमक्ष निरन्तर रुपमा ध्यानाकर्षण गराउने काम गर्दै आएको मञ्चकी केन्द्रीय अध्यक्ष हिरामोती चौधरीले बताइन् । उनका अनुसार मुक्त कमलरी आर्थिक सामाजिक रुपमा सशक्त हुनुपर्छ भन्ने मान्यताका साथ पाँच जिल्लामा ४२ सहकारी र एक समूहमार्फत आयआर्जनका विभिन्न काम भइरहेका छन् ।

सहकारीमा १४ हजार सात सय २१ जना सदस्य रहेका अध्यक्ष हिरामोतीले जानकारी दिए । सदस्यले सहकारीबाट घुम्ती कोष अनुदान सहयोग लिएर तरकारी खेती, कुखुरापालन, बङ्गुरपालन, किराना पसल र नास्ता पसल सञ्चालन गरेर आयआर्जन गर्दै आएका उनको भनाइ छ ।

घोराही–२, ४ र ८ मा ‘आइएम स्वीडिस डेभलपमेन्ट पार्टनर’को साझेदारीमा मुक्त कमलरी तथा सामाजिक बहिष्कारमा परेका महिलाको सशक्तीकरणमा परियोजनामार्फत सीप सिकाउने काम भइरहेको छ । सोका लागि तीन वटा वडामा १३ महिला समूह गठन गरिएको छ । यसमा करिब चार सय बढी महिला दिदीबहिनी आवद्धता रहेका जनाइएको छ ।

बालबालिकामा सचेतना बढाउन र भोलिको सुन्दर भविष्य निर्माणका लागि तीनै वडामा वडास्तरीय युवा क्लब पनि गठन गरिएको मञ्चकी केन्द्रीय अध्यक्ष हिरामोतीले जानकारी दिइन् । उनका अनुसार उक्त क्लबमार्फत बालविवाह अन्त्य, लैङ्गिक हिंसा निवारणका बारेमा सचेतना फैलाउने काम हुँदै आएको छ ।

दुःखद जीवन बिताउन बाध्य पारिएका कमलरीको जीवनमा परिवर्तन ल्याई सामाजिक रुपान्तरणमा मञ्चले महत्वपूर्ण भूमिका खेलेको घोराही–२ का वडाध्यक्ष चित्रबहादुर चौधरीले बताए । मञ्चले सिकाएका ज्ञान र सीपका कारण आज उनीहरु समाजका विभिन्न क्षेत्रमा स्थापित हुँदै गएका उनको भनाइ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?