रुपन्देही । रुपन्देहीको सुनौलीस्थित भैरहवा भन्सार कार्यालयका एक अधिकृतको यौनकाण्ड गुपचुप पारिएको छ । कार्यालयमा कार्यरत एक महिला भन्सार अधिकृतले काम गर्न राखेकी किशोरीमाथि भन्सार अधिकृत लक्ष्मण ढुंगानाले गत चैत १६ गते यौन दुव्र्यवहार गरेका थिए ।
रक्सीले मातेका ढुंगानाले महिला भन्सार अधिकृत कोठामा नभएको मौका छोपेर किशोरीलाई दुव्र्यवहार गरेका थिए । उनले दुव्र्यवहार गर्न थालेपछि किशोरी चिच्याएपछि कोठाबाट निस्किएर आफ्नो निवासमा गएका थिए ।
किशोरीले ढुंगानाको कर्तुतबारे महिला भन्सार अधिकृतलाई बताएपछि अर्को दिन भन्सार प्रमुख मनिराम पौडेलको कार्यकक्षमा भन्सारका सिनियर अधिकृत, महिला अधिकृत र पीडित किशोरी बसेर मिलापत्र गरिएको भन्सारका एक अधिकृतले बताए ।
भन्सार प्रमुखले नै दबाब दिएपछि मिलापत्र भएको उनले बताए । उनले भने, “सबै अधिकृतका अघि पीडक ढुंगानाले पीडित किशोरीको खुट्टा समाएर माफी मागेपछि मिलापत्र भयो, बाहिर केही कुरा नलैजाने भन्ने सहमति पनि भयो ।”
किशोरीको संरक्षणकर्ता महिला भन्सार अधिकृतले घटना घटेको स्वीकार्दै गम्भीर घटना नभएकाले माफी दिएको तर्क गरिन् । अधिकृत ढुंगानाले भने घटना नै नभएको जिकिर गर्दै आफुमाथि लागेको आरोपमा कुनै सत्यता नरहेको दाबी गरे । –दृष्टि न्यूजबाट साभार गरिएको

