बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार लुम्बिनी आउने भएका छन् । लुम्बिनीमा हुने २५६७ औँ बुद्धजयन्ती एवम लुम्बिनी दिवस समारोहलाई सम्बोधन गर्न उनी यहाँ आउन लागेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।
बैशाख २२ गते विहान पुजा र ९ बजे प्रधानमन्त्री दाहालले बुद्धजयन्ती मुल समारोहलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको उनले बताए । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपालस्थित विभिन्न देशका राजदूतसहित सांसदको उपस्थिति रहने शाक्यले बताए ।
कोषले आज पत्रकार सम्मेलन गर्दै बुद्धजयन्ती एवम लुम्बिनी दिवसको तयारी पुरा भएको जानकारी गराएको छ । वैशाख १९ गते देवदहमा देवदह सुत्त/नारी शक्ति प्रवचन गरिएको कोषका कोषाध्यक्ष एवम प्रचारप्रसार उपसमितिका संयोजक सिद्धिचरण भट्टराईले बताए ।
उनका अनुसार वैशाख २१ गते बिहान दीप प्रज्वलन, महापरित्राण र २२ गते बुद्ध पूर्णिमाको दिन बिहान पुजा पाठ, शोभा यात्रा, बिहान ९ बजे देखि ११ बजेसम्म अन्तराष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा बुद्ध जयन्तीको मूल कार्यक्रम हुनेछ ।
त्यसैगरी २२ गते पाण्डितपुरदेखि रामग्राम अस्थिधातु यात्रा, २३ गते बिहान ८ बजे लुम्बिनीबाट कपिलवस्तु सम्म बोधिसत्व सिद्धार्थको शोभा यात्रा, बिहान ११ बजे कपिलवस्तु तिलौराकोटमा विशेष समारोह हुने उनले बताए ।
बुद्धजयन्तीलाई विशेष उत्सवका रूपमा मनाउनका लागि लुम्बिनी सांस्कृतिक नगरपालिका, कपिलवस्तु नगरपालिका, मायादेवी र शुद्धोधन गाउँपालिकालाई दीपावली गर्न आग्रह गरिएको छ ।
गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको दिनलाई त्रिसंयोग दिवसका रूपमा समेत मनाउने गरिन्छ । इसापूर्व ६२३ वैशाख शुक्ल पूर्णिमाका दिन रुपन्देहीको लुम्बिनीमा बुद्धको जन्म भएको थियो ।

