बुटवल । लुम्बिनी प्रदेशमा ८ दल र स्वतन्त्र सांसद गरी बनेको नयाँ गठबन्धनको सरकार बन्ने निश्चित छ । भागवण्डा मिलाउन छलफल गरिरहेको गठबन्धन बैठकमा मन्त्रालय थप्न करिब सहमति जुटेको छ ।
माओवादी प्रदेश अध्यक्ष सुदर्शन बरालले केही मन्त्रालय थप गर्ने विषय गठबन्धन दलको बैठकमा आएको स्वीकार गरे । धेरै दलको सरकार बन्ने भएपछि केही मन्त्रालय थप हुने उनको भनाई छ ।
पहिलो चरणमा कांग्रेसले ४, माओवादीले ३ र साना दलले ४ गरी मन्त्रालय बाँडफाँडको करिब सहमति भएको कांग्रेस प्रदेश कोषाध्यक्ष प्रकाश रानाले बताए । तर यसको अन्तिम टुंगो नलागेकाले यसअघिको सरकारले बनाएको १० मन्त्रालय बढ्ने निश्चित भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १० मन्त्रालय रहेको लुम्बिनीमा माओवादीले अर्थ र भौतिकसहित ३ मन्त्रालय दाबी गरेको छ । कांग्रेसले भने अर्थ र भौतिकमध्ये एक मन्त्रालय आफूसँगै राख्न र माओवादीलाई दुई मन्त्रालय दिन चाहेको छ ।
यसअघि अहिलेको गठबन्धन सरकार रहँदा बढाएर १७ पुर्याइएको मन्त्रालय संख्या नेकपा एमालका लिला गिरी मुख्यमन्त्री भएपछि घटाएर १० बनाएका थिए । प्रदेशको मुख्यमन्त्रीमा ८ दलको गठबन्धनबाट कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले प्रदेश प्रमुखसमक्ष दाबी पेस गरिसकेका छन् ।

