गुल्मी । शिक्षा विकास तथा समन्वय इकाई गुल्मीको आयोजनामा गणित सिकाई सुधार अभियान बिषयक प्रध्यानाध्यापकहरुको बैठक तम्घासमा सम्पन्न भएको छ ।
गणित बिषयमा सिकाई उपलब्धि कम हुनुको कारणहरु पत्ता लगाएर समाधानका उपायहरुको आधारमा सरोकारवालाहरुले आ–आफ्नो कर्तव्य निर्वाह गरि आगामी दिनमा सिकाईमा सुधार ल्याउने प्रमुख उदेश्य रहेको छ ।
बैठकमा पालिकाले शिक्षामा लगानी बढाउने, पालिका शिक्षा शाखाले बिद्यालय अनुगमन गर्ने गराउने, कक्षा अवलोकन गरेर पृष्टिपोषण प्रदान गर्ने, प्रत्येक बिद्यालयको प्रत्येक तहमा गणित शिक्षकको व्यावस्थापन गर्ने, आवश्यकता अनुसार गणित बिषय सुधारका लागि कोचिङ्ग र टिउसन कक्षाको समेत व्यावस्था गर्ने निर्णय गरेको छ ।
बैठकमा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोर्ण खत्रीले बैठकमा निकै महत्वपूर्ण बिषयका बारेमा छलफल र प्रतिवद्धता गरिएकाले थप उपलब्धिमुलक बनाउन पालिका र शिक्षा शाखा तथा प्रध्यानाध्यापकहरुलाई आग्रह गरे ।
कार्यक्रममा १२ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक, कोष नियन्त्रक छविन्द्र बेलबासेसहित पालिकाका शिक्षा शाखा प्रमुख र प्रध्यानाध्यापकहरुको सहभागी भएका थिए ।
बैठकमा महेन्द्र माविका बरिष्ठ शिक्षक युवराज ज्ञवालीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र माथि पालिकागत रुपमा समुह विभाजन गरेर सहभागीहरुले सुझाव राखेका थिए ।
इकाइले निर्माण गरेको २२ बुदे प्रस्तावित प्रतिवद्धता माथि सुझाव थप गर्ने र पालिकामा पठाउने शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । बैठकमा पालिकाले पालिका स्तरमा पनि सोहि कार्यक्रम गर्ने निर्णय गरेको छ ।
कार्यक्रमका अवसरमा शिक्षा विकास तथा समन्वय इकाई गुल्मीले प्रकाशन गरेको ‘शैक्षिक झलक २०७९’ को समन्वय प्रमुख द्रोर्ण खत्री र प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले संयुक्त रुपमा लोकार्पण गरेका थिए ।
शिक्षा तथा समन्वय विकास समिति प्रमुख लोकनाथ मरासिनीले गणित शिक्षक नभएको बिद्यालयमा पालिकाले आफ्नै श्रोतबाट गणित पढेका स्वयसेवक शिक्षक नियुक्त गरेर पठनपाठन अगाडी बढाउन सुझाव दिएका थिए ।
कार्यक्रममा प्रभावकारिताका बारेमा अर्धबार्षिक र बार्षिक समिक्षा गर्ने गरेर इकाइले पालिका र बिद्यालयसंग प्रतिवद्धता गरेको इकाईका शाखा अधिकृत अमर केसीले जानकारी दिए ।

