घोराही–तुलसीपुर सडकको ठेक्का तोडिएको छ, अब नयाँ प्रक्रियामा जान्छ

मिडियाको सकारात्मक खबरदारी आवश्यक

दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङको निकै समस्याका रूपमा रहेको चारलेन सडक ठेक्का प्रक्रिया नयाँ रूपमा अघि बढेको बताएकी छन् ।

उनले भारतीय निर्माण कम्पनीले लिएको घोराही तुलसीपुर सडकको ठेक्का तोडिएको जानकारी गराउँदै भनिन्, “ठेक्काको काम तोडिएको छ, अब नयाँ प्रक्रियामा अघि बढेको छ । यो बाटो अब छिट्टै अर्को प्रक्रियामा जान्छ ।”

दाङ सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो मध्यपश्चिम ९१ थोप्लो ४ मेगाहर्ज घोराहीको १७औँ स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उनले मिडियाले सकारात्मक रूपमा खबरदारी गरेमा सरकारलाई काम गर्न सहयोग पुग्ने बताइन् ।

शर्माले देशको विकास र सुशासनका लागि सबैको सकारात्मक साथ सहयोगको अपेक्षा सरकारले खोजेको बताइन् । रेडियो सुन्ने र रेडियोको समाचारमा भर पर्नेको सङ्ख्या धेरै रहेको उल्लेख गर्दै मन्त्री शर्माले यसको सवलीकरणमा राज्यको ध्यान दिने विश्वास दिलाइन् ।

राजनीतिक दलमा आबद्ध भई बेथिति गर्नेहरुका कारण अहिलेको व्यवस्थामाथि नै प्रहार गर्न खोज्नु सह्य नहुने उनको भनाइ थियो ।

“हामीले प्राप्त गरेका उपलब्धि बचाउँदै मुलुकको विकास र सुशासन कायम गर्न रेडियोले हिजोका दिनमा जसरी आफ्नो भूमिका सशक्त बनाएर लैजानुपर्छ”, उनले भनिन्, “एक जना नेता, कर्मचारी, मिडियाकर्मी, व्यक्तिको कमजोरी गल्तीलाई संस्थागत रूपमा जोडेर व्यवस्थामाथि नै नकारात्मक भाव पैदा गर्ने काम कोही कसैबाट गरिनुहुँदैन । यसमा रेडियो मध्यपश्चिमले तटष्ठ, निष्पक्ष र स्वतन्त्ररूपमा अघि बढ्नुपर्छ ।”

कार्यक्रममा रेडियोका संस्थापक अध्यक्ष नारायणप्रसाद शर्मा मिडियामा देखापरेको समस्याका बारेमा अब बृहत् समीक्षा आवश्यक भएको बताए । उनले सञ्चारको चरम उत्कर्ष विकासमा प्रवेश गरेको बेलामा मिडिया सवलीकरणमा लाग्न सुझाव दिए ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले नागरिकको मिडियामा सहज पहुँच बनाउन सत्यतथ्य र वस्तुनिष्ठ रूपमा अघि बढ्न सक्नुपर्ने बताए ।

“रेडियोले हिजोका दिनबाट खेलेको भूमिकाले आम नागरिकमा सकारात्मक प्रभाव परेको छ । शान्ति प्रक्रिया, महाभूकम्प, प्रलय, बाढी पहिरो, विपद्जन्य घटनाहरूमा पनि रेडियोले सहजरूपमा सकारात्मक सूचना सम्प्रेषण गरेको छ”, उनले भने, “मिडियाले बलियो खबरदारी गरेका कारण पछिल्लो समय सरकारले भ्रष्टाचारलगायत विषयले प्राथमिकता पाएका छन् । बेथितिका बारेमा कारबाहीअघि बढाउन सकेको छ । सञ्चारमाध्यमको सामाजिक आवश्यकताका रूपमा कालान्तरसम्म रहिरहनेछ ।”

प्रेस काउन्सिल सदस्य शरद अधिकारीले असहज परिस्थितिमा सबै निकायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए । विद्यमान अवस्थामा धेरै क्षेत्रले असहज वातावरण भोग्न बाध्य भएको हुँदा सरकारले देखापरेका समस्या समाधानमा गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?