तीजका गीतमा ढल्कीढल्की नाच्ने भाइरल बालिका को हुन ?

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका–४ राधाकृष्ण टोल मुर्गीयामा रहेको राधाकृष्ण मन्दिरमा यहाँका महिला दिदीबहिनी भजनकृतनका लागि जुटे ।

कृष्ण जन्माष्टमीका दिन भजनकृतनमा रमाउँदै गर्दा उनीहरु केहीबेरमा तीजका गीत गाउँदै नाचगान गरे । यही क्रममा सैनामैना–४, राधाकृष्ण टोलकी ४ वर्षीय कृतिका पुरी (कपुरी) पनि तीज गीतमा छमछमी नाचिन् । पाकापुस्ताको लबजमा उनी नाचेको भिडियो केहिले सामाजिक सञ्चालमा पोष्ट गरे ।

केही घण्टामै उनको छोटो नृत्य सामाजिक सञ्जालमा भाइरल बन्यो । टिकटक, फेसबुक, युट्युवलगायतका सामाजिक सञ्जाल कृतिकामय बने ।

बालराधा बनेर नाचेको त्यो तीज नृत्यले धेरैलाई आकर्षित गर्‍यो । टिकटकहरुमा लाखौंले हेरेको उनको नृत्य ‘आहा ! कस्तो राम्रो नृत्य’ भन्दै प्रशंसा गरिरहेका छन् । केहीले त गीत रिमिक्स गरेर उनको नृत्य सामाजिक सञ्चालमा पोष्ट गरिरहेका छन् ।

पर्वतको बिहादी गाउँपालिका–२ बर्राचौर घर भई हाल राधाकृष्ण टोल, मुर्गीयामा डेरा गरी बस्ने कमल पुरी र पुनम पुरीकी दोस्रो सन्तान हुन कृतिका ।

सामान्य र न्यून आय भएको यो परिवारकी जेठी छारी तुलसीले सैनामैनाको पर्रोहा माविमा कक्षा १० मा अध्ययन गर्छिन् । उनी प्रथम छात्रा हुन् ।

उनका बाबु भारतको पुनेमा कुनै होटलमा काम गर्थे । होटलले बिदा नदिएपछि केही महिनाको तलबको समेत माया मारेर अहिले घर फर्किएका छन् ।

यतै काम गरेर छोरीहरुलाई पढाउने भन्दै विहादीबाट उनीहरु केही वर्ष अघि तराईमा झरेका थिए । यहाँ भनेजस्तो काम नपाएपछि उनी मुम्बईतिर हानिए । कुकको काम जानेका कमलले काम त पाए तर, भनेजस्तो तलब त्यहाँ पनि पाएनन् ।

अब यतै काम गर्ने सोेंचमा छन् कमल । उनले भने, “केही नगरी त कसरी बाँच्न सकिन्छ र दुईवटा छोरी छन् र अब अर्को बच्चा पनि हुनेवाल छ, कोठा भाडा पनि तिर्नैपर्‍यो, गुजारा पनि चलाउनै पर्‍यो ।”

कसरी सिकिन कृतिकाले यस्तो नाच्न ?

टिभी तथा मोबाइलमा हेरेर आफु पनि नाच्न कोसिस गर्ने कृतिकालाई त्यहीँ रहेकी उनकी फुपुकी छोरी स्मृतिले कहिलेकाँही कपडा लगाएर नाच नानी भन्दै नचाउँथिन् ।

तीजका गीतमा ढल्कीढल्की नाच्ने भाइरल बालिका को हुन ? - Lumbini News

कहिलेकाँही घरमा मोबाइलमा गीत बजाउँदै नाच्न लगाउँदा लगाउँदै उनी ढिल परेर नाच्न थालिन् । वल्लोपल्लो घरका सबैले उनलाई ‘नानी आउ नाच’ भन्न थाले, उनी पनि लाज नमानि निर्धक्क नाच्थिन् । यसरी नाच्दानाच्दै उनको नाच्ने सीप झन निखारिँदै गयो ।

“कतिपय बच्चामा विलक्षण प्रतिभा हुन्छ । सानैदेखि केही न केही गुण, प्रतिभा देखाउन निपूर्ण केही बालबालिका वास्तवमै राम्रा हुन्छन्” प्रतिक्रिया लेख्दै यसक्षेत्रका वरिष्ठ नृत्य निर्देशक लोकेन्द्र शाह भन्छन्, “कुनै तालिम, कुनै प्रशिक्षणबिना यति राम्रो नाच्न जान्ने अद्भुद क्षमता ती नानीमा देखियो ।”

कृतिकालाई तीजका मौलिक गीतमा नचाउने छिमेकी कल्पना न्यौपानेले आफैलाई अचम्म पार्नेगरी नाचेको बताइन् । उनले भनिन, “आमाहरु नाचेको जसरी नाचिन हामी त छक्कै परिम ।”

प्रशवकालको त्यो पीडा र केही ग्रामको बच्चा

कतिपयले सात महिने शिशुमा पछि हुँर्कदै जाँदा अनेक भाग्य खुल्छ पनि भन्छन् । पथ्वीनारायण शाह पनि सात महिनामै जन्मिएको बताइन्छ । कृतिका पनि टुपुक्क सात महिना पुग्दा जन्मिएकी थिइन् ।

“जन्मदाँ पुग नपुग एक किलो पनि थिइनन्, विरालोको छाउरो जस्तो प्राण भएको खै यस्तो बच्चा के बाँच्ला र भन्दै दुई हत्केलामा लिएकी थिएँ” कितृकाकी फुपु सीता गिरी स्मरण गर्छिन् ।

गर्भ रहेको सात महिनामा उनकी आमा पुनमलाई असह्य भयो, रक्तचाप अस्वभाविक बढ्यो र आइसीयुमै भर्ना गर्नुपर्ने भयो । त्यसबेला बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा आइसीयू खाली भएन । डाक्टरहरुले आइसीयु र एनआइसीयु सहितको अस्पतालमा लैजान सुझाव दिए ।

तत्काल भैरहवा एनआइसीयु सहितको यूसीएमएसमा भर्ना गर्न पुर्‍याइयो । त्यहाँ भर्ना गरेको २४ घण्टामा डाक्टरहरुले करिब आठ सय ग्राम तौल भएको बच्चा निकाले । बच्चामा प्राण थियो र एनआइसीयुमा राखियो । पछि विस्तारै सुधार हुँदै गयो र त्यहाँबाट डिस्चार्ज गरिएको थियो ।

अहिले कृतिका हुर्कँदै गएपछि सबै कुरा टपक्क टिप्न सक्ने भएकी छन् । नजिकै रहेको प्रभात बोर्डिङमा पढ्न जान्छिन् । गाउँटोलमा यस्ता जमघट हुँदा होस् कि घरमा मोबाइलमा गीत बजाउँदा होस् उनी मजाले नाच्छिन् । उनकी आमा पुनम भन्छिन, “सिकाउने भन्दा पनि प्राक्टिस गर्दा गर्दै नाच्न जान्ने भइन् ।”

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?