­­सावित्रा परियारको धुनबिनाको गीतले पाएको नयाँ जीवन

‘म यति रोइछैन

रुँदा दिल बुझाउने कोही छैन

घरैमुनि सल्लेरीको वन…’

गुल्मीकी सावित्रा परियारलाई के थाहा, मेलापर्वमा उनले गाउने धुनबिनाको यो गीत कुनैबेला लोकप्रिय हुन्छ भनेर । गाउँपाखामा उनले गाएको यो भाखाले नयाँजीवन पाएको छ । धुन हालेर सार्वजनिक गरिएको यो मर्मस्पर्शी गीत युट्युब ट्रेन्डिङको पाँचौं स्थानमा छ ।

शिव हमालको संगीतमा सावित्राको त्यो अर्गानिक गीतले पूर्णता पाएको छ । चार दिनमै गीतको अडियो संस्करणलाई दुई लाख ८४ हजार पटक हेरिएको छ । सावित्रा र यो गीत टिकटक र रिल्समा भाइरल छन् ।

सानैदेखि गायिका बन्ने सपना देखेकी सवित्राले गतसाता सामाखुसीको वान डीबी स्टुडियोमा गीत रेकर्ड गरिन् । पहिलोपटक काठमाडौं आएकी उनको सपना अब यतै बसेर कलाकारितालाई निरन्तरता दिने हो । यसका लागि उनलाई थुप्रै सहयोगी हातले साथ दिएका छन् ।

गुल्मीदेखि काठमाडौंसम्म

सावित्राले यो गीत गाउन थालेको धेरै भयो । मेलापर्वमा उनले धुनबिनै यो गीत गुन्गुनाइन् । कमल खत्री नामका युवकले धुनबिनाको उनको गायकीलाई सामाजिक सञ्जालमा हालिदिएपछि यो भाइरल बन्न थाल्यो । अनि त्यसलाई पर्वतका अशोक पौडेलले टिकटकमा हालेपछि सबथोक बदलियो ।

त्यसपछि उनी यति चर्चित बनिन् कि उनको जीवनको पटकथा नयाँ रुपले लेखिन थाल्यो । फेसबुक रिल्समा पहिलोपटक धुनबिनाको यो गीत सुनेपछि वानडीबी स्टुडियो चलाउँदै आएका एचबीएन किस्मतले रेकर्ड गर्ने निधो गरे । उनकै पहलमा सवित्रालाई काठमाडौं ल्याइयो । रेकर्ड गरेर उनको आवाजलाई बाजाको धुनमा रेकर्ड गरियो ।

‘घरमा खाना खाइरहेको बेला स्क्रोल गर्दा फेसबुक पेजमा गीत भेटाएँ । म बागलुङको भएकाले पनि यस्ता मौलिक गीतमा मेरो रुचि छ । मेरो ममीले पनि गाउनुहुन्छ । पञ्चैबाजा राखेर गाउने कन्सेप्ट आयो,’ किस्मतले भने, ‘शिव हमाल र ईश्वर सिंहसँग कुरा भयो । अनि गीतमा बाजा भर्ने योजना बन्यो । हामीले केही पैसा दिएपछि उहाँ स्वीटर र चप्पल किनेर काठमाडौं आउनुभयो ।’

काठमाडौं आउनुअघि नै सावित्रा सामाजिक सञ्जालमा भाइरल थिइन् । उनको त्यो गीतमा प्रशस्तै टिकटक भिडियो बनेका छन् ।

‘भष्मै’ सावित्राको थेगो हो । उनले काठमाडौं आइपुगेपछि आफूलाई भष्मै खुसी लागेको बताइन् । ‘मलाई यहाँको सबै राम्रो लाग्यो । भष्मै खुसी लागेको छ,’ उनले सम्झिइन्, ‘मेलापर्वमा गाएकी थिएँ । आफ्नो वेदना गाउँदा रोएँ पनि । सानैदेखि गाउँथे, गायिका बन्ने सपना पूरा भएन । अहिले सबैको सपोर्टले यहाँ आइपुगें ।’

तीन छोरीकी आमा हुन् उनी । छोरीको विवाह गरिदिइन् । आफ्नो गाउने धोकोमा श्रीमानको पनि साथ रहेको उनी सुनाउँछिन् ।

मौलिक आवाज संरक्षणको प्रयास

शिव हमालको संगीतमा गीत रेकर्ड भयो । रोचक के छ भने यो गीत युट्युबमा रिलिज हुँदा हमाल नेट राम्रोसँग नचल्ने धादिङको एक गाउँमा छन् । उनलाई यो गीतको भ्युज कति पुग्यो भन्ने पनि थाहा छैन । तर उनले सावित्रा र गीतबारे मजाले कुरा गरे ।

सावित्राको आवाजले मन छोएको हमाल बताउँछन् । ‘एउटा शब्द लेख्दिन परो भन्दै अफर गर्नुभयो । शब्द लेख्दै गर्दा मन छोयो । त्यो दिदीको आवाजले मन छोयो,’ शिव भन्छन् । रेकर्ड गर्नुअघि कसैको प्रतिलिपि अधिकार भए सप्रमाण आउनुहोला भन्दै सूचना जारी गरिएको समेत उनले सम्झिए ।

‘यसरी छरिएको मौलिक गीतलाई संरक्षणका लागि रेकर्ड गर्‍यौं । यो व्यावसायिक प्रयोजनका लागि नभई मौलिक रचनाको संरक्षणको प्रयास थियो,’ शिव भन्छन्, ‘दिदीलाई भोलि केही भइहाल्यो भने सिर्जना त मर्नेभयो । आवाज मर्न नदिनका लागि रेकर्ड गरेका हौं । उनले यो गीतको भिडियो पनि आउन लागेको बताए ।

काठमाडौंमा बसेर कलाकारितालाई निरन्तरता दिन चाहे सावित्रालाई सघाउन आफूहरु तयार रहेको शिवले बताए । ‘यस्ता प्रतिभालाई केही गर्दा राम्रो हुन्छ ।

बसोबास र कलाकारितालाई निरन्तरता दिन काठमाडौं आउनुभएको छ । दिदीले चाहेको खण्डमा काठमाडौंमा बसेर कलकारितामा लाग्नुहुन्छ भन्ने हामीलाई लागेको छ । भाइरल बनाएर गाउँ पठाउनु हुँदैन,’ शिवले भने ।–अनलाईन खबरबाट

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ