पाल्पा । जिल्लाको रामपुर नगरपालिका–१०, गेझा बर्दलेबाट प्रहरीले २४ वटा सालको अवैध गोलिया काठ मंगलबार राति बरामद गरेको छ ।
गेझा बर्दले बस्ने रामपुर–१० का पूर्ववडाध्यक्ष लीला गाहाले सञ्चालन गरेको जनता फर्निचर नजिकै खसालेको अवस्थामा वनको कुनै टाँचा नलगाएको सालको अवैध ढंगले ल्याएको काठ प्रहरीले गोप्य सूचनाको आधारमा बरामद गरेको हो ।
उक्त काठ ९५ दशमलव ८ क्युफिट हुने प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक तथा सूचना अधिकारी सन्तोष चन्दका अनुसार प्रहरी चौकी हुंगी र इलाका प्रहरी कार्यालय रामपुरको टोलीले गोप्य सूचनाको आधारमा सालको काठका गोलिया बरामद भएको हो ।
अनुसन्धान अधिकृतसहितको टोलीले जनता फर्निचर नजिकैबाट साल जातको अवैध काठ फेला पारेको र उक्त काठ नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ ।
बरामद काठ नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सब–वन डिभिजन कार्यालय रामपुरमा पठाइएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
सब–वन डिभिजन कार्यालय रामपुरका प्रमुख सुजन राजभण्डारीले बरामद भएकै स्थानबाट अनुसन्धान सुरु गरिने बताए । फर्निचर लीलाको श्रीमती अनुमाया गाहाको नाममा सञ्चालित छ । फर्निचर प्राङ्गणमै सालका अवैध गोलिया राखिएको भए पनि वन डिभिजनका कर्मचारीले कसको हो भन्ने जानकारी दिएन ।
फर्निचरमा रहेको फोनमा सम्पर्क गर्दा फोन नै नउठेको सब–वन डिभिजन कार्यालय रामपुरका प्रमुख राजभण्डारीले बताए । पछिल्लो समयमा रामपुरका कालीगण्डकी क्षेत्रमा सालको गोलिया, खयर जातको काठको अवैध कारोबार मौलाएको छ । यसअघि पनि प्रहरीले खयर, साल जातको काठका गोलिया बरामद गरेको छ ।

