बुटवल । असोज २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी–२’ को झ्याउरे गीत ‘परदेशी छुकछुके रेलैमा’ सार्वजनिक भएको छ ।
प्रकाश सपूत, केकी अधिकारी, प्रशान्त तामाङ फिचर्ड गीतको म्युजिक भिडियो पाल्पाको माथागढी गाउँपालिका–३ सराईमा छायांकन गरिएको हो । पाल्पामै जन्मिएका संगीतकार नारायण रायमाझिको शब्द रहेको गीतमा उनीसँगै तेजेन्द्र गुरुङ, टिका पुन, देवी घर्ती र ममता गुरुङले स्वर दिएका छन् ।
प्रेमदेव गिरीले संगित भरेको यो गीतको म्युजिक भिडियोमा पाल्पाली कलाकारहरुसमेत देखिएका छन् । चलचित्र परदेशी–२ दशैँको अवसरमा यही असोज २६ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ ।
राजेश वंशल र नारायण रायमाझीको निर्माण रहेको परदेशी–२’मा प्रकाश, केकी र प्रशान्तका साथमा वर्षा शिवाकोटी, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देबेन्द्र बब्लुलगायतको अभिनय छ । चलचित्रको कथा एवं पटकथा रमेश बिजीले लेखेका हुन् ।
युवापुस्तामा रहेको विदेश मोहको कथामा चलचित्र निर्माण गरिएको हो । यसअघि रायमाझिले निर्माण गरेका ‘गोर्खा पल्टन’ र ‘परदेशी’ चलचित्र सुपरहिट भएका छन् ।

