राप्तीसोनारीमा बाघ देखिएको हुदाँ सजगता अपनाउन आग्रह

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको राप्तीसोनारी गाउँपालिकामा फेरि पाटेबाघ देखिएको छ । विगतमा पनि धेरै पटक निकुञ्जबाट छिरेर गाउँपालिकामा त्रास उत्पन्न गराउँदैआएको बाघ फेरि देखिएको हो ।

गाउँपालिकाको वडा ६ फत्तेपुरस्थित राप्तीपीडित तथा गुलरी सामुदायिक वन क्षेत्रमा पाटेबाघ देखापरेको स्थानीयले जनाएका छन् । वनमा गएका स्थानीय बासिन्दाले बाघलाई देखेको जनाएका छन् ।

राप्तीसोनारी गाउँपालिका–६ का वडाध्यक्ष लवराज खरेलले सामुदायिक वन क्षेत्रमा पाटेबाघ पुनः देखा परेकाले स्थानीयलाई सचेत पारिएको बताए । उनले भने, ‘राप्तीपीडित तथा गुलरी सामुदायिक वन क्षेत्रमा पुनः बाघ देखापरेको छ, जङ्गल प्रवेश गर्दा समूह बनाएर मात्र प्रवेश गर्न सर्वसाधारणलाई अनुरोध गरेका छौँ ।’

दुई वर्षअघि मात्र सोही सामुदायिक वन क्षेत्रमा पाटेबाघले आतङ्क मच्चाएको थियो । पाटेबाघले मानिसको ज्यान लिनुका साथै थुप्रै पशु चौपायामाथि आक्रमण गरेको थियो ।

बाघले दिनहुँजसो मानिस र पशु चौपायामाथि आक्रमण गर्नेक्रम नरोकिएपछि डिभिजन वन कार्यालय र बाँके राष्ट्रिय निकुञ्जले बेहोस बनाएर नियन्त्रणमा लिई चितवनमा लगेर छाडेको थियो ।

विगतको घटनालाई स्मरण गर्दै वडाध्यक्ष खरेलले स्थानीयलाई सावधानी अपनाउन विशेष आग्रह गरिएको बताए । डिभिजन वन कार्यालय बाँकेका प्रमुख अजितकुमार कर्णले पाटेबाघ अहिले फेरि सो जङ्गलमा देखापरेकाले घाँस, दाउरा र पशु चौपाया चराउन जाँदा सजगता अपनाउन सूचना जारी गरिएको बताए ।

प्रमुख कर्णले भने, ‘जङ्गलमा जाँदा विशेष सावधानी अपनाउन राप्तीपारीका बासिन्दालाई आग्रह गरिएको छ, सकभर यो समयमा जङ्गलमा प्रवेश नगर्न सचेत पारिएको छ ।’ डिभिजन वन कार्यालय बाँकेका प्रमुख कर्णकाअनुसार अहिले देखापरेको बाघले राप्तीपारी क्षेत्रमा हानी नोक्सानी गरेको कुनै जानकारी आएको छैन, तर सजगता अपनाउन आवश्यक छ ।

दुई वर्षअघि राप्तीसोनारी र नरैनापुर क्षेत्रभित्र एक महिनाको अन्तरमा मात्र पाटेबाघले ५ जनाको ज्यान लिएको थियो । दर्जनौँ पशु चौपाया मार्नुका साथै घाइते बनाएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?