बाँकेका चार स्थानमा ऐतिहासिक मेला सुरु

खजुरा । कार्तिक शुक्ल पूर्णिमा (पूर्णमासी)का अवसरमा बाँकेका विभिन्न स्थानमा मेला सुरु भएको हो । बाँकेको राप्ती नदी सिधनियाघाट, जानकी गाउँपालिकाको गुरुवागाउँ, जोगागाउँ र राप्तीसोनारीको टिकुलीपुरमा आजदेखि मेला सुरु भएको हो ।

कार्तिक पूर्णिमाका दिन राप्ती नदीमा स्नान गर्नेको आज बिहानैदेखि भीड लागेको छ । नदीमा स्नान गर्न बाँकेलगायत विभिन्न स्थानबाट भक्तजन आउने गर्दछन् ।

नदी तथा जलासयमा बिहान स्नान गरी गौदान गर्ने, सिधा तथा अन्नलगायतका दान दिने गरिएको अवधि साहित्यकार पण्डित शिवप्रसाद पाठकले बताए ।

उनले भने, “यो स्नानको ठूलो महत्व छ, यो स्नान गर्नले माघेसङ्क्रान्तिका दिनको जति फल मिल्छ, यो सूर्य भगवान्को विकिरण पानीमा पर्ने भएकाले स्नान गरेपछि मानिसको शरीरमा चर्मरोगसम्बन्धी समस्यासमेत निराकरण हुन्छ ।”

कार्तिक शुक्ल पूर्णिमाको दिन हरेक वर्ष चर्तुमास समापन गरिने चलन छ । चर्तुमास समापनपश्चात् शुभकार्यको थालनी गर्ने चलन रहिआएको छ । पूर्णिमाका दिनदेखि विवाह तथा व्रतबन्धका साइत सुरु हुने पण्डित पाठकले बताए । चर्तुमासका कारणले रोकिएका विवाह तथा ब्रतबन्ध अनि ठूला पूजाआजा सबै सुरु हुन्छन् ।

पूर्णिमाका अवसरमा राप्ती नदीको सिधनिया घाटमा मेला लागेको छ । मेलामा रामलीला मञ्चन, मनोरञ्जनात्मक नाचगानलगायतका सांस्कृतिक कार्यक्रम हुने स्थानीय मेला आयोजक समितिका भोलाप्रसाद गुप्ताले बताए ।

उनका अनुसार भारतबाट करिब २० जना कलाकारको समूहले नाटक मञ्चन, नौटङ्की नृत्यलगायतका सांस्कृतिक कार्यक्रम गरिरहेका छन् । मेलामा साधुसन्तकोसमेत उपस्थिति छ । मेलाको अन्तिम दिन भण्डारा गरी समापन गरिने समितिले जनाएको छ ।

यसैगरी, बाँकेको जानकी र राप्ती सोनारी गाउँपालिकाको ग्रामीण क्षेत्रमा लाग्ने ऐतिहासिक मेला लागेको छ । कार्तिक शुक्ल पूर्णिमाका अवसरमा जानकी गाउँपालिका–२ जोगागाउँ र वडा नं ५ गुरुवा गाउँमा तीनदिने मेला सञ्चालन भएको जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले बताए ।

पुराना मेलाका रूपमा चिनिएका यी मेला भर्न बाँके, बर्दिया, दाङ, सुर्खेतका विभिन्न स्थानका साथै भारतको रुपैडिहा, नानपारा, श्रावस्ती, खिरी लखिमपुरसम्मबाट मानिस आउने गर्दछन् ।

मेलामा राति सांस्कृतिक कार्यक्रमसमेत हुने गर्दछ । ऐतिहासिक मेलाको संरक्षणका लागि आफूहरूले आवश्यक सहयोग गर्दै आएको अध्यक्ष खाँले बताए ।

बाँकेको राप्तीसोनारी गाउँपालिका–२ टिकुलीपुरमा पनि प्रत्येका वर्ष तीनदिने डिग्रे मेला लाग्दै आएको छ । यस वर्ष राप्तीसोनारी–२ टिकुलीपुरमा आजदेखि डिग्रे मेला सुरु भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कमारो केसीले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?