किवी खेतीबाट मनग्य आम्दानी

प्युठान । प्युठानको गौमुखी गाउँपालिका –३ रजबाराका नरेन्द्र मल्लले व्यावसायिक रुपमा किवी खेती गर्दै आएका छन् । विगत तीन वर्षदेखि उनले वर्षेनी किवी उत्पादन गरी विक्री गरेर वार्षिक पाँच लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।

मल्लको बारीमा लगाएको किवीको बोटमा लटरम्म फल लागेका छन् । “सुरुको वर्ष डेढ क्विन्टल फल्यो” मल्लले भने। गत वर्ष दश क्विन्टल किवी बिक्री गरेको उनले बताए ।

किवीको ग्रेडिङ गरेर चार सय र पाँचसय रुपियाँ किलोमा बिक्री गरेको उनले बताए । यो वर्षको उत्पादन बिक्री गरिरहेको उनले बताए ।

गाउँकै खरा माध्यमिक विद्यालयमा शिक्षण पेशामा कार्यरत मल्लले सुमन जडिबुटी तथा कृषि नर्सरी स्थापना गरी किवीको व्यावसायिक खेती गरेका छन् । उनले तीन ठाउँमा किवी खेती गरेका छन् ।

करिव १० रोपनी क्षेत्रफलमा किवी लगाएको उनले बताए । “किवीको खेतीसँगै बेर्ना उत्पादन पनि गरेको छु” उनले भने, “अर्को वर्ष अझ बढी फल्छ ।”

मल्ल काठमाडौं पुगेका बेला किवीको बारेमा थाहा पाएका छन् । “बजारमा किवी महंगो फल रहेछ” उनले भने, “त्यसपछि त्यस फलको बारेमा अध्ययन गर्न थाले ।” सामाजिक सञ्जाल युट्युब लगायतबाट हेर्दै सिक्दै खेती सुरु गरेको उनको अनुभव छ ।

उनले गाउँमै किवीसँगै अन्य फलफूल तथा जडीबुटी उत्पादन तथा नर्सरी बेर्ना उत्पादनको शुरुवात गरेको जानकारी दिए । हालसम्म उनको झण्डै पाँच लाख रुपियाँ लगानी भएको छ ।

त्यसैगरी, मल्लरानी गाउँपालिका –१ चुँजाका पोमबहादुर नेपालीले समेत बाँझो जग्गामा किवी खेती गर्दै आएका छन् । केही वर्षदेखि उनले किवी खेती गरेर आम्दानी लिंदै आएका छन् । “खेर गएको बाँझो जग्गामा किवी खेती गरेको छु” उनले भने, “दुई वर्षदेखि उत्पादन सुरु भएको छ ।”

गौमुखी गाउँपालिकाका कृषि प्राविधिक हुमलाल न्यौपानेले समुद्री सतहदेखि १६ सय मिटरमाथिको उचाइमा किवी खेती हुने बताए । गौमुखी गाउँपालिकाको भूगोल किवी खेतीका लागि उपयुक्त रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ