गुल्मी । यु डब्लू एस नेपालले गुल्मीका पालिकास्तरका सरोकारवालाहरूसँग गुणस्तरीय तथा समावेशी शिक्षा प्रवर्द्धनका लागि समीक्षा गर्ने भएको छ ।
शनिबार प्रेस बिज्ञप्ती जारी गर्दै यु डब्लू एस नेपालले कार्यक्रमको बारेमा जानकारी गराएको हो । पुस १ गते रेसुङ्गाको पौवा होटलमा आयोजना गरिएको समीक्षामा संघ र प्रदेश सभाका सदस्य, जिल्ला समन्वय प्रमुख, परियोजना लागु भएका र अब सञ्चालन हुने पालिकाका प्रमुख, पालिकाका समाजिक विकास समिति संयोजक, शिक्षा अधिकृतसहितका जिल्लाका सरोकारवालाहरुको उपस्थिति रहनेछ ।
कार्यक्रममा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि यु डब्लू एस नेपालले सञ्चालन गरेका परियोजनाको उद्देश्यहरू प्रस्तुत गर्ने तथा भावी योजनाहरु सार्वजनिक गर्दै गुणस्तरीय तथा समावेशी शिक्षा प्रवर्द्धनमा जिल्ला तथा पालिकास्तरका सरोकारवालाहरूको समेत सुझाव संकलन गरिने यु डब्लू एस नेपालको सिनियर एजुकेशन म्यानेजर नताशा काफ्लेले जानकारी दिइन् ।
यु डब्लू एस नेपालको एक परियोजना अन्तर्गत लैङ्गिकमैत्री समावेशी वातावरण सिर्जना गरी विद्यालय शिक्षालाई सुधार गर्नका लागि समावेशीकार्यदल गठन गरिने उनले बताइन् ।
उक्त कार्यदलले आगामी दुई वर्षसम्म प्रत्येक छ महिनामा एक पटक बैठक बसेर समावेशी र समतामूलक गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्न स्थानीय तहको सरकारलाई सल्लाह सुझाव प्रदान गर्ने काफ्लेको भनाई छ ।
त्यस्तै कार्यक्रम पश्चात स्थानीय तहका सरोकारवालाहरु यु डब्लू एस नेपालद्वारा सञ्चालित कार्यक्रम र परियोजनाहरुका बारेमा जानकार हुनुका साथै तिनीहरुको अपनत्व लिने, आधारभूत तहको शैक्षिक गुणस्तर सुधार गर्न शिक्षामा स्थानीय तहका सरोकारवाला तहहरूबीच सहकार्यका लागि सहयोगी वातावरण सिर्जना गर्दै ५ वर्षसम्म सहकार्य गर्ने अपेक्षा गरिएको यु डब्लू एस नेपालका गुल्मी स्थित बरिष्ठ शिक्षा अधिकृत अनुज सिग्देलले जानकारी दिए ।
यस्तै सहकार्य अवधिको पाँच वर्ष समाप्त भएपछि सो विद्यालयमा यु डब्लू एस नेपालले गरेका राम्रा कार्यहरुको निरन्तरता दिने गरी स्थानीय निकायमा विद्यालयलाई हस्तान्तरण गर्ने संस्थाको योजना अनुसार यस कार्यक्रमबाट भावी दिनहरुमा समेत सहयोग मिल्ने अपेक्षा गरिएको उनले बताए ।

