बुटवल । रूपन्देही व्यापार संघको आयोजनामा जारी बुटवलको लुम्बिनी एक्स्पो-२०८० को पछिल्लो दुई दिन शनिबार र आइतबार मात्रै ३ लाखभन्दा बढीले अवलोकन गरेका छन् ।
‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ बुटवल मण्डपमा जारी एक्स्पो-२०८० को १० औं र ११ औं दिनमा परेको सार्वजनिक बिदाले मेला अवलोकन गर्नेको भीड लागेको हो ।
भीडका कारण मेला स्थल बुटवल मण्डपभित्र तयार गरिएका विभिन्न स्टलहरुमा भीड नियन्त्रण गर्न आयोजकलाई समस्या परेको थियो ।
मेला सचिवालयका अनुसार प्रदर्शनीस्थलमा २ दिनमा करिब ३ लाखभन्दा बढी दर्शकहरुले अवलोकन गरेका छन् । मेलामा विद्यार्थी, अभिभावक, सरकारी एवं गैरसरकारी कार्यालयका कर्मचारीलगायतको भीड बढी थियो । अत्यधिक भीड बढेपछि प्रवेशको क्रममा दर्शकलाई रोकेर नियन्त्रण गर्नु परेको मेला प्रबन्धक सरोज पोखरेलले बताए ।
‘अपेक्षाभन्दा बढी दर्शक र अवलोकनकर्ता आएपछि व्यवस्थापन र नियन्त्रण गर्न हम्मेहम्मे नै पर्यो,’ उनले भने, ‘केही समय प्रदर्शनी स्थलको प्रवेशमा रोक लगाएर व्यवस्थापन गरियो ।’ शनिबारभन्दा आइतबार बढी भीड लागेको उनले बताए ।
प्रदर्शनीमा स्थानीय र बाहिरी गरी झण्डै १ हजार स्टल छन् । मेलामा स्थानीय कृषि उत्पादनदेखि कपडा, अल्लोका सामग्री, स्थानीय जुत्ताचप्पल, काष्ठजन्य सामग्रीलगायतका स्थानीय उत्पादनहरु पनि प्रदर्शनमा राखिएको छ ।
दर्शकको भीडले प्रर्दशनीस्थल भित्रका स्टल क्षेत्र, मञ्च रहेको खुल्लाचौर र बालउद्यानको क्षेत्रमा मान्छे उभिने स्थानको अभाव भएको मेलाका सदस्यसचिव दयानिधि भण्डारीले बताए ।
‘मण्डपको क्षमताभन्दा बढी दर्शहहरुको घुइँचो लाग्यो,’ उनले भने, ‘आइतबारको भीडले अबका दिनमा मेला आयोजना गर्दा बढ्न सक्ने भीड र व्यवस्थापनका चुनौती थपेको छ ।’ मेलामा दर्शकको भीड बढ्नु भएको व्यवसायीका लागि सकारात्मक सन्देश पुगेको उनले बताए ।
मेलामा आइतबार आयोजक संस्था रुपन्देही व्यापार संघले विभिन्न क्षेत्रका ३० जना वृद्धवृद्धालाई सम्मान गरेको छ । रुरु मिलन केन्द्र शंकरनगरको पहलमा ३० वृद्ध महिला तथा पुरुषलाई संघले दोसल्ला ओढाएर सम्मान गरेको थियो ।
वृद्धवृद्धाहरुलाई संघका संस्थापक अध्यक्ष मोतिराज ज्ञवाली, पूर्वअध्यक्षहरु मोतिप्रसाद पाण्डे, पदमप्रसाद श्रेष्ठ, संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले संयुक्त रुपमा सम्मान गरेका थिए ।
वृद्धहरुलाई सामाजिक सद्भाव, पारिवारिक माया र अभिभावकीय दायित्वबोधका लागि संघले सम्मान गर्ने गरेको संघका संस्थापक अध्यक्ष मोतिराज ज्ञवालीले बताए । मेलामा सांस्कृतिक विधातर्फका विभिन्न प्रतियोगिताहरु जारी छन् ।

