वरर्सिम घाँसखेतीले किसानलाई सहज

देउखुरी । घोराही उपमहानगरपालिका– ६ का किसान भीमबहादुर डाँगीले दुई दुहुँना भैँसी, दुई पाडापाडी र छ बाख्रा पालेका छन् । उनले घर नजिकैको एक बिघा खेतमा वरर्सिम घाँसखेती गरेका छन् ।

उनलाई भैँसी र बाख्रा पाल्न सजिलो भएको छ । खेतमा घाँस छर्नुअघि उनले दुई घण्टा हिँडेर धारापानीको जङ्गलबाट घाँस ल्याउनुपर्ने बाध्यता थियो । हिँउदमा आफ्नो एक बिघा खेतमा तोरी, मसुरो र गहुँको साटो वरर्सिम घाँस लगाउने गरेका छन् ।

उनले खेतमा घाँस लगाउन थालेको छ वर्ष भयो । हरियो हुँदा काटेर भैँसी र बाख्रालाई खुवाउन पाइएको बताए । सुकेको डाँठलाई पनि भुसका रुपमा खुवाउन पाइने र फल लाग्यो भने बिक्री पनि गर्न पाइने अत्यन्तै उपयोगी घाँस भएको उनले बताए ।

“भैँसी र बाख्राका लागि घाँस खोज्न भौँतारिनुपरेको छैन, सजिलै आफ्नै खेतबारीबाट प्राप्त गर्न सकिएको छ, समयको बचत पनि भएको छ”, उनले भने । हिउँदमा वरर्सिम लगाएपछि एक याममा चारदेखि पाँच पटकसम्म काट्न सकिन्छ ।

घाँस लगाउँदा त्यसले धान उत्पादनमा समेत वृद्धि हुने उनको अनुभव छ । बीउ छरेपछि गोडमेल र स्याहार्न झन्झट नभएकाले घाँसखेतीमा आकर्षण बढेको हो ।

गाई, भैँसी, भेडा र बाख्रा सबैलाई सो घाँसले फाइदा पुर्‍याउँछ । पशुपालक किसानका लागि वरर्सिम घाँस एकदमै उपयोगी भएको उनले बताए । “एक बिघा खेतबाट एक याममा रु दुई लाख आम्दानी हुन्छ, गत वर्षमात्र मैले रु एक लाखको वरर्सिम घाँसको दाना बेचेँ”, उनले भने ।

सोही गाउँका खुसलराम डाँगी पेसाले शिक्षक हुन् । उनले दुई भैँसी र पाँच बाख्रा पालेका छन् । “बाह्र कट्ठा खेतमा वरर्सिम घाँस छरेको छु, बस्तुभाउलाई पाल्न सजिलो भएको छ”, उनले भने । बिहान बेलुका घर छेउको खेतबाट घाँस काटेर खुवाउन सजिलो भएको छ । घरमै बीउ उत्पादन गरेर बर्सेनि घाँसखेती गर्ने गरेको उनले बताए ।

“गत वर्ष रु ८० हजारको घाँसको बीउ बिक्री गरेको थिएँ, यसपाली एकपटक काटेर सकियो, चार पटकसम्म काट्न सकिन्छ”, उनले भने । धान काट्नुभन्दा अगाडि मसुरो छरे जस्तै गरेर सो घाँसको बीउ छर्ने गरिन्छ ।

घाँस उमं्रदा धान काटिसकेको हुनुपर्छ । हरियो र सुकेको वरर्सिम घाँस गाईबस्तुलाई खुवाउन एकदमै राम्रो मानिन्छ । मसुरो र गहुँ खेतीभन्दा घाँसबाट बढी आम्दानी हुने भएपछि यतातिर लागेको उनको भनाइ छ । गहुँ र मसुरोभन्दा धेरै आम्दानी हुने भएकाले यहाँका धेरैजसो किसानको ‘ग्रिन गोल्ड’ वरर्सिम घाँसप्रति आकर्षण बढेको छ ।

घोराही– ६ का गुरुवागाउँ, जजरागाउँ, वेरगै, गुरगै, बेरुवागाउँ, फचकपुर र अघरा तथा घोराही–१७ को गैरागाउँ र कर्जाहीका किसानले वरर्सिम घाँसखेती गरेका छन् ।

अहिले पूरै खेतभरि हरियो वरर्सिमखेती देख्न सकिन्छ । अहिले उक्त क्षेत्रमा रहेका एक सय ८० घर परिवारले घाँसखेती गर्ने गरेको शिवशक्ति घाँस बीउ उत्पादक सङ्घका सचिव विमल अधिकारीले जानकारी दिए । लगानी कम र आम्दानी राम्रो हुने भएकाले यसतर्फ किसानको आकर्षण बढेको अधिकारीले बताए ।

दाङमा यो घाँसखेती गर्नेको सङ्ख्या बर्सेनी बढ्दै गएको छ । जोत्न नपर्ने, मल हाल्नु नपर्ने र धानमा हालिएको मलले काम गर्ने भएकाले मलको बचत हुन्छ । पटकपटक सिँचाइ पनि गर्न नपर्ने भएकाले कृषकलाई थप सहज हुने गरेको छ । सचिव अधिकारीका अनुसार अहिले एक सय २० हेक्टरमा वरर्सिम घाँसखेती गरिएको छ ।

घोराही उपमहानगरपालिकाको कृषि शाखाले पशुपालक किसानलाई मागका आधारमा ५० प्रतिशत अनुदानमा वरर्सिम घाँस वितरण गर्ने गरेको जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ