बजारलाई कृषि र स्थानीय उत्पादनसँग जोड्नुपर्ने

लुम्बिनी । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्राचीनकालदेखि सञ्चालन हुँदै आएका हाटबजार व्यवस्थित गरी कृषि र स्थानीय उत्पादनसँग जोड्नुपर्ने बताएका छन् ।

उनले सानो लगानीबाट सञ्चालन भएका हाटबजारले जनतालाई प्रत्यक्ष सेवा दिएको बताउँदै हाटबजार व्यवस्थित गर्ने दायित्व स्थानीय सरकारको भएको उल्लेख गरे ।

हाटबजार व्यवसायी सङ्घको आज बुटवलमा सम्पन्न १८औँ साधारणसभा तथा १०औँ अधिवेशनको उद्घाटन गर्दै प्रदेशप्रमुख शेरचनले व्यवसायको जन्मदाता हाटबजार भएको बताए ।

उनले हाटबजार सञ्चालनका लागि कुनै पनि लेनदेन र सम्झौता नगरी अनुमति दिन स्थानीय सरकारका प्रमुखलाई आग्रह गरे ।

जनतालाई दैनिक उपभोग्य वस्तु सस्तोमा उपलब्ध गराउन हाटबजारहरुलाई व्यवस्थित गरी सञ्चालनमा ध्यान दिन स्थानीय सरकारलाई प्रदेश प्रमुख शेरचनले अनुरोध गरे ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलका हाटबजारहरुलाई व्यवस्थित बनाउन कार्यविधि बनाउने बताए ।

यसैबीच, बुटवल उपमहानगरपालिकाले अवैधरुपमा सार्वजनिकस्थलमा निर्माण गरिएका घरटहरा भत्काउन सुरु गरेको छ । सार्वजनिकस्थल अतिक्रमण गरी संरचना बनाएका ठाउँ खाली गरेर विश्रामस्थल, उद्यान र चौतारी निर्माण गर्ने उद्देश्यले सार्वजनिकस्थलमा निर्माण भएका घरटहरा हटाएको उपमहानगरपालिकाले जनाएको छ ।

सार्वजनिकस्थलमा निर्माण भएका टहरा हटाउन पटकपटक सम्बन्धित पक्षलाई पत्राचार गरे पनि त्यसको सुनुवाइ नभएपछि इलाका प्रहरी कार्यालय, नगरप्रहरी, भूमि शाखा र स्थानीयको सहयोगमा ती टहरा हटाइएका हुन् ।

बुटवललाई उपयुक्त विश्रामस्थलका रुपमा विकास गर्न पर्यटकीयस्थल, उद्यान, चौतारी, सार्वजनिक शौचालय र पिउने पानीको व्यवस्था गर्ने गरी चालू आर्थिक वर्षमा बजेट विनियोजन गरेको नगरप्रमुख पाण्डेयले बताए । उनका अनुसार चालू आर्थिक वर्षमा केही स्थानमा नमूनाका रुपमा केही चौतारी निर्माण गरिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ