चिस्यान केन्द्र नहुँदा सस्तोमै सुन्तला बिक्री गर्न बाध्य किसान

तानसेन । पाल्पाका किसानले डेढ दशकअघि सुन्तला भण्डारण गर्न चिस्यान केन्द्र स्थापनाको माग गरेको भए पनि अहिलेसम्म निर्माण हुन सकेको छैन ।

किसानहरूको माग अनुसार सुन्तला भण्डारण गर्ने चिस्यान केन्द्र (कोल्ड स्टोर) निर्माण नहुँदा किसानले सस्तोमा सुन्तला बिक्री गर्न बाध्य भएका छन् ।

चिस्यान केन्द्रमा सुन्तला भण्डारण गरेर बेसिजनमा बिक्री गर्न पाए धेरै आम्दानी गर्न सक्ने सम्भावना भए पनि त्यसो नहुँदा सस्तोमा सुन्तला बिक्री गर्न बाध्य भएको किसानको गुनासो छ ।

जिल्लाको सुन्तला अत्यधिक हुने क्षेत्र रैनादेवी छहरा, रिब्दीकोट, बगनासकाली गाउँपालिकाका किसानले सस्तोमै सुन्तला बिक्री गरेको बताएका छन् ।

चिस्यान केन्द्रको अभावमा सुन्तला भण्डारण गर्न नसक्दा सिजनमै प्रतिकिलो ४० देखि ७० रुपियाँ सुन्तला बिक्री गर्न बाध्य भएको रैनादेवी छहरा–४, अमलाबासका किसान टीकाराम पोखरेलले गुनासो गरे ।

“चिस्यान केन्द्र नहुँदा सस्तोमा सुन्तला बिक्री गर्न बाध्य छौँ । चिस्यान केन्द्रमा सुन्तला भण्डारण गर्न सकेको भए चैत/वैशाखमा दुई सय रुपियाँमा बिक्री गर्न सकिन्थ्यो,” उनले भने ।

चिस्यान केन्द निर्माणको माग गरेको डेढ दशक बितिसक्दा समेत सम्बन्धित निकायले केन्द्रको निर्माणमा ध्यान दिन नसकेको रैनादेवी छहरा–४, का किसान नित्यानन्द पोखरेलले गुनासो गरे । चिस्यान केन्द्रको माग गरेको डेढ दशक भए पनि आफूहरूको माग कसैले सुन्न नसकेको उनले बताए ।

चिस्यान केन्द्रको व्यवस्थापन नहुँदा बुटवल, भैरहवा, पोखरा, नारायणघाट, चितवनबाट आएका व्यापारीले तोकेको मूल्यमा सुन्तला बिक्री गर्न बाध्य भएको किसानको भनाइ छ । पाल्पाको तीन वटा पालिकाका अधिकांश वडाबाट वार्षिक १० करोड बढीको सुन्तला निर्यात हुने गरेको छ ।

चिस्यान केन्द्रको व्यवस्थापन भएको अवस्थामा हाल बिक्री भइरहेको सुन्तलाको मूल्यले तेब्बर बढी भाउ पाउने किसानको भनाइ छ ।

सदरमुकाम तानसेनमा बनेको चिस्यान केन्द्र ११ वर्षदेखि अलपत्र छ । तानसेनसहित पाल्पाका विभिन्न स्थानमा उत्पादन हुने कृषिजन्य वस्तुको भण्डारण गर्न तानसेन–७, बाघखोरमा चिस्यान केन्द्रको निर्माण थाले पनि एक दशकदेखि अलपत्र बनेको स्थानीय बासिन्दा मोहनलाल गैरेले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ