गुल्मीमा धमाधम एमाले जनवर्गीय संगठनका अधिवेशन हुँदै

गुल्मी । कार्यकर्ता प्रशिक्षणमा केन्द्रित गुल्मी एमालेले धमाधम जनवर्गीय संगठनका अधिवेशन आह्वान गरेको छ। पछिल्लो समय नेकपा एमाले गुल्मी चलायमान देखिएको छ । संगठन निर्माण, प्रशिक्षण र जनजीविकाका विषयमा सरकार र निकायहरूको ध्यानाकर्षणमा एमालेले जोड दिएको छ ।

एमाले गुल्मीले माघ र फागुनमा तीन संगठनको अधिवेशन गर्ने कार्ययोजना बनाएको छ। कार्ययोजनाअनुसार अखिल नेपाल महिला संघ जिल्ला कमिटीको ११औँ अधिवेशन २६ र २७ माघमा आह्वान गरिएको छ।

अखिल नेपाल महिला संघ जिल्ला कमिटी, सचिवालय र पालिका कमिटी अध्यक्षहरूको संयुक्त भेलाले ११औँ अधिवेशन भव्य बनाउने गरेर कार्ययोजनासहित विभिन्न उपसमिति गठन गरेको प्रचारप्रसार उपसमिति संयोजक सावित्रा खड्काले जानकारी दिइन् ।

अधिवेशनका लागि १५ माघसम्म सदस्यता वितरण तथा बाँकी रहेका वडा र पालिकाका अधिवेशन गर्ने निर्णय बैठकले गरेको छ। २० माघमा १२ वटै पालिका र वडामा प्रतिनिधि छनाेट हुने बताइएको छ ।

त्यस्तै, राष्ट्रिय युवा संघ नेपाल गुल्मीको १०औँ जिल्ला अधिवेशन आगामी ५ फागुनमा तम्घासमा हुने भएको छ। पार्टी जिल्ला कार्यालयमा बसेको युवा संघ गुल्मीको पदाधिकारी बैठकले अधिवेशनको मिति तय गरेको हो ।

९ माघमा पदाधिकारी, सचिवालय र पालिका कमिटी अध्यक्षहरूको बैठक बसेर अधिवेशनका लागि प्रतिवेदन लेखन, प्रतिनिधि व्यवस्थापन, आर्थिक परिचालन, प्रचारप्रसार, मञ्च तथा हल व्यवस्थापन, सांस्कृतिक र अतिथि सत्कार उपसमिति गठन गर्ने अध्यक्ष सुरेश भण्डारीले जानकारी दिए ।

अनेरास्ववियु गुल्मीको पनि अधिवेशन हुँदै छ । अधिवेशन आयोजना गर्न उदय अर्यालको संयोजकत्वमा जिल्ला सम्मेलन आयोजक कमिटी विस्तार गरिएको बताइएको छ ।

प्रदेशभरका लोकतान्त्रिक आदिवासी जनजातिहरू भेला हुँदै

गुल्मीमा लुम्बिनी प्रदेशभरका लोकतान्त्रिक आदिवासी जनजातिहरू भेला हुने भएका छन् । जसका लागि लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश कमिटीको अधिवेशन आगामी २६ र २७ फागुनमा गुल्मी तम्घासमा हुने भएको छ ।

मदन–आश्रित स्मृति भवन एमाले पार्टी कार्यालयमा सम्पन्न लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश कमिटीको सचिवालय बैठकले अधिवेशन गर्ने निर्णय गरेको हो । अधिवेशनको उद्घाटन गर्न नेकपा एमाले केन्द्रीय कमिटी उपाध्यक्ष रामबहादुर थापा आउने कार्यक्रम रहेको छ। अधिवेशनका लागि आठवटा उपसमिति गठन गरिएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ